काठमाडौं- सानै उमेरमा सृष्टि केसीको आँखामा एलर्जी भयो। परिवारले उनलाई उपचारका लागि अस्पताल पुर्याए। तर डाक्टरको लापरबाहीले उनको आँखामात्रै बिग्रिएन, सधैंका लागि ज्योति नै हरायो।
डाक्टरले दिएको गलत औषधिको प्रयोगले उनमा जलबिन्दुको समस्या देखा पर्यो। त्यसपछि उनले बिस्तारै ज्योति गुमाउँदै गइन्। पछि पूर्ण रुपमै दृष्टिविहीन बन्न पुगिन्।
१६ वर्षको उमेरबाट आँखाको ज्योति गुमाएकी उनै सृष्टिको बायोपिक फिल्म ‘ब्लाइन्ड रक्स’ निर्माण भएको छ। यसअघि विदेशमा प्रदर्शन भइसकेको फिल्म फागुन १८ देखि नेपालभर प्रदर्शनमा आउने भएको हो।
फिल्मले सृष्टिले दृष्टि गुमाउँदाको क्षण र त्यसपछिका भोगाइलाई समेटेको छ। सृष्टिको चरित्रमा देखिँदैछिन्, वेनिशा हमाल। सृष्टिको चरित्र निर्वाह गर्नका लागि वेनिशाले निकै अभ्यास गर्नुपर्यो। जसका लागि ६ महिना लामो तयारी गरेको उनी बताउँछिन्।
‘मेरो लागि यो फिल्म गर्नु जति अवसर थियो, उति नै चुनौती पनि,' सोमबार राजधानीमा फिल्मबारे जानकारी दिन आयोजित पत्रकार भेटघाटमा वेनिशाले सुनाइन्, 'किनकि कसैको रियल जीवनको भोगाइलाई रिलमा न्याय दिन खोजेको छु।'
आफूले निकै मेहनतका साथ सृष्टिको भूमिकालाई निर्वाह गरेको उनले बताइन्।
सृष्टिले पनि आफ्नो जीवनमा आधारित फिल्म बनेको खुसी व्यक्त गरिन्। 'एउटा व्यक्तिमाथि फिल्म बन्नुलाई भाग्यले दिएको अवसरका रुपमा लिएको छु,' उनले भनिन्, 'फिल्मले आम दर्शकमाझ मलाई थप परिचित गराएको छ।' यसले आफूलाई थप उत्साह प्रदान गरेको भन्दै उनले अझ सक्रिय भएर अघि बढ्ने बताइन्।
यसअघि बेलायत, हङकङ, मकाउ लागायतका देशमा प्रदर्शन भइसकेको फिल्मले सकारात्मक प्रतिक्रियाका साथ हौसला प्राप्त गरिसकेकाले नेपालमा सफलता पाउनेमा विश्वस्त भएको निर्देशक मिलन चाम्सले बताए।
फिल्ममा सृष्टिकी आमाका रुपमा गौरी मल्लले भूमिका निर्वाह गरेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।