काठमाडौं- भ्रमण वर्ष २०२० लाई लक्षित गरेर सार्वजनिक यातायातमा प्रचाररप्रसारको सामग्री टाँसिने भएको छ। देशभर चल्ने सबै सार्वजनिक यातायातमा भिजिट नेपालको लोगोसहितको स्टिकर टाँसिने भएको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सहकार्यमा उक्त का गरिने भएको छ। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उक्त सहकार्यको घोषणा भएको हो।
देशभर रहेका ३ लाखभन्दा बढी सार्वजनिक यातायातमा स्टिकर टाँसिने पर्यटन मन्त्री योगेश भट्टराइले जानकारी दिए। ‘भ्रमण वर्षलाई लक्षित गरि हामीले मंसिर १५ गतेसम्म सबै सार्वजनिक यातायातमा स्टिकर टास्न व्यवसायीलाई आग्रह गर्छाँ,’ उनले भने, ‘भ्रमण वर्ष सफल पार्न यातायात क्षेत्रको ठूलो योगदान हुनेछ।’
सवारी साधन फोहोर, कोचाकोच र स्टाफहरुको व्यवहार राम्रो भएन भने संसारमा नेपालको बारेमा गलत सन्देश जाने मन्त्री भट्टराईको भनाइ छ। ‘सवारी साधन फोहोर हुँदा र चालक तथा सहचालकको व्यवहार राम्रो भएन भने हाम्रो छवि नराम्रो हुन जान्छ। यसमा व्यवसायीले विशेष ध्यान दिनुपर्छ।’
भ्रमण वर्षको मूल आयोजक समितिमा यातायात क्षेत्रको पनि प्रतिनिधित्व गराइएको छ। सवारी साधनमा स्टिकर टाँस्ने काम राजधानीबाट सुरु गरेर देशव्यापी बनाउने योजना रहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंका महासचिव सरोज सिटौलाले बताए।
‘भ्रमण वर्षलाई लक्षित गरेर हामीले ४ प्रकारका स्टिकर बनाएका छौं,’ सिटौलाले भने, ‘पछि व्यवसायीको मागअनुसार यातायात कम्पनीलाई सुहाउँदो आकारको स्टिकर समेत बनाउने योजना रहेको छ।’
यो प्रचारात्मक स्टिकर सवारीका लागि बाध्यात्मक नभई स्वेच्छिक भएको भट्टराइले बताए। यी स्टिकरले गाडीलाई हानी नगर्ने हुँदा राष्ट्रको अभियानमा सहयोग पुर्याउन सिटौलाले सबै व्यवसायीलाई आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।