काठमाडौं– बाल गायक अधिश्री कसपालले पाको उमेरको अनुभवमा तयार पारिएको गीत ‘छोरी अन्माउँदा’ ल्याएका छन्।
राजधानीमा मंगलबार आयोजित कार्यक्रममा ११ वर्षीय अधिश्रीको गीतको भिडियो सार्वजनिक गरियो। भिडियोमा सरोज खनाल र वर्षा सिवाकोटी फिचरिङ छन्। सुभाषचन्द्र ढुंगेलको शब्द रहेको गीतमा सुरेश अधिकारीको संगीत छ।
गीतकार, संगीतकार तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको कार्यक्रममा संगीतकार अधिकारीले गीतकार ढुंगेलको फरक धारको गीतमा आफूले गम्भीर किसिमको संगीत प्रयोग गरेको बताए।
‘गीतको शब्द र संगीतको भाव अनुसार सानै उमेरको अधिश्रीले गाउन सक्ला या नसक्ला भन्ने मलाई द्विविधा थियो, तर उसले एउटा परिपक्व गायकले गाए जसरी गीत गाइदियो’, उनले भने।
संगीतकार अधिकारीले अधिश्रीको जस्तै संगीतमा रुचि राख्ने बालबालिकालाई परिवारको सहयोग र सद्भाव आवश्यक रहने समेत बताए।
संगीतकार दीपक जंगमले आफ्नो समयमा बाल्यावस्थामा गीत गाउनु निकै चुनौतीपूर्ण रहेको स्मरण गर्दै अहिले भने परिवारको सहयोगले संगीतमा आउन सजिलो भएको चर्चा गरे।
कार्यक्रममा अधिश्रीले ‘छोरी अन्माउँदा’ र ‘अरुलाई निचो देखाउन खोजेर’ बोलको गीत गाएर सुनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।