काठमाडौं- अर्थमन्त्री डा युवराज खतिवडाले लगानीयोेग्य पुँजी अभावबारे नेपाल राष्ट्र बैंकसँग कुरा गर्ने बताएका छन्। उद्योग वाणिज्य महासंघको टोलीसँग कुरा गर्दै अर्थमन्त्री खतिवडाले लगानीयोग्य पुँजी बढाउने विषयमा आफू प्रतिवद्ध रहेको बताए। नयँ अर्थमन्त्रीलाई बधाई दिन अर्थमन्त्रालय पुगेको महासंघको टोलीसँग डा खतिवडाले अहिले भइरहेको लगानी अभावबारे आफू जानकार रहेको बताएका थिए।
‘लगानी योग्य पुँजीको अभावबारे म पूर्ण जानकार छु, यसबारे केन्द्रीय बैंकसँग कुरा गर्छु,’ अर्थमन्त्री खतिवडाले भने, ‘लगानीयोग्य पुँजी अभावको समस्या मैले नेपाल राष्ट्र बैंकको गभर्नर हुदाँ समेत सुल्झाएको थिएँ, अब पनि सुल्झाउनेछु।’
अर्थमन्त्री खतिवडालाई नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले लगानी योग्य पुँजी अभावको समस्या समाधानमा ठोस कदम चाल्न अनुरोध गरेका थिए। त्यस्तै, महासंघका बस्तुगत तर्फका उपाध्यक्ष उमेशलाल श्रेष्ठले पनि बैंकहरु नाफको पछि दौडेकाले लगानीयोग्य पुँजीको अभाव भएको बताएका थिए।
महासंघका उपाध्यक्ष श्रेष्ठले मन्त्री खतिवडा समक्ष भने, ‘बैंकहरुले नाफा मात्रै हेर्दा हामी उद्योगीले ऋण पाउनै छाड्यौं, लगानीयोग्य पुँजीको अभावबारे केही कदम चाल्न आवश्यक छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।