काठमाडौं- मूल्य अभिवृद्धि कर (भ्याट)को नक्कली बिल प्रयोग गर्ने ५ जना विरुद्ध राजस्व अनुसन्धान विभागले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ। विभागले ९ करोड ३९ लाख ३३ हजार रुपैयाँ बिगो कायम गरी बिगोको दोब्बरसम्म जरिवाना र ३ वर्ष माग दावीसहित मुद्दा दायर गरेको हो।
विभागका अनुसार एसपी इन्टरप्राइजेज/हिमाल कन्सट्रक्सनका प्रोप्राइटर शिवप्रसाद गौतमविरुद्ध राजस्व चुहावटको अभियोगमा ३ करोड ८१ लाख रुपैयाँ बिगो कायम गरी विगोको दोब्बरसम्म जरिवाना र ३ वर्षसम्म कैद सजायको माग दावीसहित मुद्दा दायर गरिएको छ।
यसैगरी वाटरमार्क इन्टरप्राइजेजका प्रोप्राइटर शिवराम न्यौपानेविरुद्ध पनि राजस्व चुहावट गरेको अभियोगमा १ करोड ५९ लाख रुपैयाँ बिगो कायम गरी बिगोको दोब्बर जरिवाना र ३ वर्ष कैद माग गरी मुद्दा दायर गरिएको पनि विभागले जनाएको छ।
विभागले मण्डनदेउपुर काभ्रेका लक्ष्मण चौलागाईं विरुद्ध पनि मुद्दा दायर गरेको छ। चौलागाईंले ६९ लाख ३९ हजार रुपैयाँ राजस्व चुहावट गरेको देखिएको विभागको भनाइ छ। उनले आफ्नो कम्पनी हिमालयन इन्टरप्राइजेमार्फत उक्त रकम चुहावट गरेको त्यसको दोब्बर बिगो कायम गरी ३ वर्ष कैद सजाय माग गरिएको विभागले जनाएको छ।
विभागका महानिर्देशक दीर्घराज मैनालीले दिएको जानकारीअनुसार भक्तपुरका सुदर्शन चौलागाईंले पनि नक्कली बिजक तयार गरी राजस्व चुहावट गरेका छन्। उनले आफ्नो कम्पनी युनिभर्सल इन्टरप्राइजेजमार्फत ३० लाख ३२ हजार राजस्व चुहावट गरेको पाइएकाले बिगोको दोब्बरसम्म जरिवाना र ३ वर्ष कैद सजाय माग गर्दै मुद्दा दायर गरिएको छ।
यसैगरी विभागले आर्जन हार्डवेयरका सञ्चालक देवबहादुर खत्रीविरुद्ध पनि मुद्दा दायर गरेको छ। खत्रीले आफ्नो कम्पनीमार्फत २ करोड ९८ लाख रुपैयाँ राजस्व चुहावट गरेको भेटिएकाले यसैलाई बिगो ठहर गर्दै बिगोको दोब्बरसम्म जरिवाना र ३ वर्ष कैद सजाय मागदावी गर्दै मुद्दा दायर गरिएको छ।
'मूल्य अभिवृद्धि करका नक्कली बिजक तयार गरी राजस्व चुहावट गर्नेमाथि हामीले कारबाही अघि बढाइरहेका छौँ,' मैनालीले भने, 'त्यसैअन्तर्गत अहिले कारबाही प्रक्रिया अघि बढाइएको हो।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।