काठमाडौं- भारतले प्याज निकासीमा प्रतिबन्ध गरेसँगै नेपाली बजारमा प्याजको मूल्यमा उतरचढाव आएको छ। भारतले गत असोज १२ गते प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो। भारतले प्याजको मूल्य बढेसँगै कालोबजारी बढेको भन्दै प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो। नेपालीको महान चाड दसैंको आगमन सुरु भएकै समयमा भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो।
भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाउँदा नेपाली बजारमा प्याजको मूल्य प्रतिकेजी १ सय २० रुपैयाँ र खुद्रा बजारमा १ सय ५० रुपैयाँको हाराहारीमा पुगेको थियो। नेपाली बजारमा खपत हुने प्याज विदेशबाटै आयात हुने गरेको छ।
यसअघि भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाए पनि खासै मूल्य बढ्को थिएन। दसैं तथा तिहारसम्म नेपाली बजारमा प्याज प्रतिकेजी सरदर थोक बजरमा एक सय रुपैया र खुद्रा बजारमा १ सय २० रुपैयाँमै कारोबार भइरहेको थियो।
तर, पछिल्लो साता भने प्याजको मूल्यमा प्रतिदिन ५ रुपैयाँको हाराहारीमा मुल्य बढिरहेको छ। बुधकार कात्तिक २७ गते कालिमाटी तरकारी बजारमा प्याजको थोक मूल्य औसतमा १ सय ४५ रुपैयाँ रहेको छ। तर, खुद्रा बजारमा भने प्याजको मूल्य १ सय ८० देखि १ सय ९० रपैयाँसम्ममा कारोबार भइरहेको छ।
भारतले प्याजको निर्यात बन्द गरेपछि नेपालको बजारमा त्यसको असर परेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेलले बताए।
‘नेपाली बजारमा खपत हुने प्याजको बढी हिसा भारतीय बजारबाटै आउने गरेको छ। प्याज कोल्डस्टोरमा राख्ने चलन छैन, माग अनुसार ल्याएर बिक्री वितरण गर्ने हो। त्यसकारण निर्यातमा बन्देज लगाएपछि त्यसको प्रभाव त अवश्य देखिएको छ,’ पौडेलले भने।
भारतले निर्यातमा प्रतिबन्ध लगाए पनि स्टक रहेको प्याज र चीनबाट भएको आयातका कारण पनि प्याजको मूल्य केही समय स्थिर जस्तै बसको व्यापारीहरुको भनाइ छ। अहिले बजारमा प्याजको माग बढेपनि निर्यात भने अति नै कम भएको छ। जसका कारण प्याजको मूल्य बढन थालेको कालीमाटी तरकारी बजार विकास समितिको भनाइ छ।
३ महिनामा पौन ४ करोड प्याज आयात
चालू आवको पहिलो ३ महिनामा मात्रै नेपालले भारत लगायत तेस्रो मुलुकबाट झन्डै पौने ४ करोड केजी बराबर प्याज आयात गरेको छ।
भन्सार विभागको तथ्यांक अुनसार साउनदेखि असोससम्ममा भारत, चीन तथा नामिबियाबाट गरी ३ करोड ७१ लाख ३२ हजार २ सय २९ केजी प्याज आयात भएको छ। जसमा भारतबाट मात्रै ३ करोड ३ करोड ६७ लाख ९७ हजार ५ सय ९ केजी प्याज नेपाल आएको छ। यसैगरी, चीनबाट ३ महिनाकै अवधिमा ३ लाख २२ हजार ७ स्य २० केजी प्याज नेपाल आएको छ भने नामिबियाबाट १२ हजार केजी प्याज नेपाल आएको छ।
चीनबाट बढ्दै भारतबाट घट्दै
चालुआवको पहिलो महिना साउनमा भारत तथा तेस्रो मुलुकबाट नेपालले १ करोड ४९ लाख २ हजार २ हजार ४ सय ९ केजी प्याज आयात गरेको थियो।
जसमा भारतबाट मात्रै १ करोड ४८ लाख ८६ हजार ४ सय केजी प्याज आएको थियो। तर, चीनबाट मात्रै ४ हजार केजी मात्रै प्याज आयात भएको थियो। साउन महिनामै नामिबियाबाट पनि १२ हजार केजी प्याज नेपाल आएको थियो।
यसैगरी, भदौ महिना आइपुग्दा नेपालले भारत तथा तेस्रो मुलुकबाट २ करोड ९८ लाख १८ हजार ४ सय ९१ केजी प्याज आयात गरेको थियो। जसमा चीनबाट ८हजार र नामिबियाबाट ८ हजार केजी मात्रै थियो। साउन र भदौ महिनामा गरी नेपालले चीनबाट ८ हजार केजी मात्रै प्याज आयात गरेको थियो। तर, असोज १२ गते भारतले प्याज निर्यातमा प्रतिबन्ध लगायपछि चीनबाट हुने प्याज आयात ह्वातै बढेको छ।
असोज महिनासम्म आउँदा नेपालले भारत तथा तेस्रो मुलुकबाट कुल ३ करोड ७१ लाख ३२ हजार २ सय २९ केजी प्याज आयात गरेको छ। जसमा भदौ महिनासम्ममा ८ हजार केजी प्याज आयात भएकोमा असोज महिनामा आइपुग्दा चीनसबाट आयात भएको प्याजको परिमाण ३ लाख २२ हजार ७ सय २० केजी पुगेको छ। तर, भारतबाट साउन महिनाको अन्त्यसम्ममा १ करोड ४८ लाख ८६ हजार ४ सय ९ केजी प्याज निर्यात भएको थियो भने भदौ महिनाको अन्त्यसम्ममा आइपुग्दा भारतबाट आयात भएको प्याजको परिमाण २ करोड ९७ लाख ९८ हजार ४ सय ९१ केजी पुगेको थियो। तर, असोजमा भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि आयातको परिमाण ह्वातै घटेको छ। असोजको अन्त्यसम्ममा भारतबाट भएको प्याज आयातको परिमाण ३ करोड ६७ हजार ९७ लाख ५ सय ९ केजी पुगेको छ। मासिक १ करोड ५० लाख केजीको हाराहारीमा प्याज आयात भइरहेको भारतबाट असोज महिनामा ७० लाख केजीको हाराहारीमा मात्रै प्याज निर्यात भएको छ। जुन प्याज पनि असोज १२ गते अगाबै बढी आएको भन्सार विभागको भनाइ छ। पछिल्लो समय भने भारतबाट प्याज आयात अतिनै न्यून रहेको विभागको भनाइ छ।
चालू आवको पहिलो ३ महिनामा झन्डै ४ करोड केजी प्याज आयात गरको नेपालले १२ हजार केजी निर्यात समेत गरेको छ। जसमा नेपालबाटै भारत तर्फ ९ हजार केजी र कतार ३ हजार ५ सय ७० केजी प्याज निर्यात भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।