काठमाडौं- मर्जर र प्राप्तिमा जाने बैंक तथा वित्तीय संस्थाको सेयर कारोबार सम्बन्धमा नेपाल राष्ट्र बैंकले नयाँ व्यवस्था लागू गरेको छ।
राष्ट्र बैंकले मंगलबार परिपत्र जारी गर्दै बैंक वित्तीय संस्थाहरुलाई उनीहरु मर्जर तथा एक्विजिसनमा जाँदा संस्थाको सेयर खरिद बिक्रीमा रोक नलगाइने जनाएको हो।
नयाँ व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाको संचालक, कार्यकारी प्रमुख, लेखापरिक्षक, कम्पनी सचिव वा बैंक वा वित्तीय संस्थाको व्यवस्थापन तथा लेखा सम्बन्धी कार्यमा प्रत्यक्ष रुपमा संलग्न व्यक्तिले पदमा बहाल रहँदा वा पदबाट अवकास लिएको एक वर्षसम्म सेयर कारोबार गर्न नपाउने व्यवस्था मर्जर र प्राप्तिमा जानेसंस्थाको हकमा भने लागू हुनेछैन।
मर्जर वा प्राप्ती गरेको अवस्था बाहेक त्यस्ता व्यक्ति र तिनका परिवारले एक वर्षसम्म सम्बन्धित बैंक वा वित्तीय संस्था र त्यसको सहायक कम्पनीको धितोपत्र आफ्नो परिवारको सदस्य वा अरु सदस्यको नियन्त्रणमा रहेको फर्म कम्पनी वा संस्थाको नाममा वा अन्य व्यक्तिलाई खरिद बिक्री गर्न गराउन, धितोबन्धक राख्न, दान बकस दिन जस्ता कुनै पनि क्षेत्रमा लेनदेन गर्न पाइँदैन।
तर मर्जर वा प्राप्तिको अवस्थामा भने यस्तो गर्न पाइनेछ। नेपाल राष्ट्र बैकबाट बैंक तथा वित्तीय संस्थाका लागि जारी गरिएको एकीकृत निर्देशन २०७६ मा संशोधन/परिमार्जन गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था लागू गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।