काठमाडौं- अर्थमन्त्रीमा दाबेदारिता प्रस्तुत गर्दै आएका एमाले महासचिव ईश्वर पोखरेललाई रक्षामन्त्री सुम्पिएर प्रधानमन्त्री ओलीले दोस्रो वरीयता दिएका छन्।
अर्थमा चर्चा हुँदै आए पनि उनलाई अन्तिम समयमा ओलीले रक्षामन्त्री दिएका हुन्। अर्थविद् तथा पूर्व गभर्नर युवराज खतिवडाको विज्ञताअनुसार अर्थमन्त्री बनाउने ओलीले अडान राखेपछि पोखरेलले रक्षा मन्त्रालय रोजेका हुन्। स्रोतका अनुसार पोखरेललाई प्रधानमन्त्रीपछि दोस्रो वरीयतामा राख्ने सर्तसहित सरकारमा सहभागी गराइएको हो।
काठमाडौं क्षेत्र नं ५ बाट सांसद बनेका पोखरेलले सरकारको प्रभावशाली मन्त्रालयको रुपमा रहेको अर्थ सम्हाल्ने इच्छा राखेका थिए। विकास र समृद्धिको नारासहित नयाँ सरकारको नेतृत्व गरेका ओलीले सो मन्त्रालयमा अर्थका जानकार खतिवडालाई अर्थ मन्त्रालयको जिम्मेवारी सुम्पिएका हुन्।
प्रधानमन्त्री ओलीले एमाले र माओवादीबाट २/२ मन्त्री समावेश गर्दै सोमबार दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन्। अब मन्त्रिपरिषद् ७ सदस्यीय बनेको छ।
एमालेबाट रक्षामन्त्रीमा ईश्वर पोखरेल र अर्थमन्त्रीमा युवराज खतिवडा तथा माओवादीबाट गृहमन्त्रीमा रामबहादुर थापा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा मातृका यादवले सपथ लिएका हुन्। उनीहरुले प्रधानमन्त्रीको उपस्थितिमा शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको सपथ लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।