जोर्नी दुखेमा वा सुन्निएमा हामी बाथ रोग वा युरिक एसिड हो कि भनेर आशंका गर्छौँ र चिकित्सककहाँ पुग्छौँ। यो अवस्थमा प्रयोगशाला जाँच गरिन्छ, तर निदान नभएको अवस्थमा दुखाई कम गर्ने औषधि प्रयोग गर्ने सुझाब दिइन्छ। रोगको पहिचानबिना रोगबाट बच्ने पूर्वतयारी गर्न सकिँदैन।
डेँगु र चिकनगुनिया नेपालमा अहिले देखा परेका जोर्नी असाध्य दुखाउने सरुवा रोगहरु हुन्। हालै टेकु अस्पतालमा ज्वरो र जोर्नी दुखेको वा सुन्निएको अवस्थामा शंका लागेर डेँगुसँगै चिकनगुनिया पनि परीक्षण गर्न विभिन्न अस्पतालबाट बिरामीको नमूना पठाइएको थियो। ती बिरामीहरुमा डेँगु नभई चिकनगुनिया भाइरसको संक्रमण रहेको पुष्टि भयो। यो नतिजा आफैँमा चाखलाग्दो भए पनि अस्वाभाविक भने होइन।
सन् २०१३ मा मैले पहिलोपटक नेपालमा चिकनगुनिया भाइरस रहेको प्रमाणित गरेको थिएँ। र सजग रहर सुझावहरु पनि दिएको थिएँ। तर त्यसयता चिकनगुनियाबारे न त चिकित्सकले चासो दिए न त इपिडेमियोलोजी महाशाखाले नै खोजीनिधि गर्यो। चिकित्सकहरुले पनि यस भाइरसलाई डेँगु प्रकोप हुँदा मात्र प्रयोगशाला निदान गर्न प्रोत्साहित गरेको देखियो। सर्वसाधारणले पनि यो भाइरसबारे आवश्यक जानकारी राख्न खोजेको वा चासो दिएको देखिँदैन।
हालसम्मको अनुसन्धानले चिकनगुनियाले डेँगुजस्तो कडा स्वास्थ्य समस्या ल्याएको नदेखाएकाले पनि यो भाइरसबारे कम चासो राखिएको हुनुपर्छ। तर गत वर्ष छिमेकी देश भारतमा चिकनगुनियाले दर्जनौँ मानिसको मृत्यु गराएको कुरा यहाँ स्मरण गराउन चाहन्छु।
यसले स्नायु प्रणाली, आँखा र मुटुमा जटिलता ल्याउने गरेको फेला परेको छ। खासगरी यसको संक्रमणपछि बिरामीमा महिनौँ वा वर्षौंसम्म पनि जोर्नी कडा दुख्ने र सुन्निने गरेको पाइन्छ। संक्रमणपछिको लामो समयसम्म हुने यस प्रकारको दुखाइलाई 'पोस्ट चिकनगुनिया क्रोनिक इन्फ्लामाटोरी र्युमाटिजम्' भन्ने गरिन्छ। चिकनगुनिया भाइरसको नाम पनि यही लक्षणका आधारमा तान्जानियाको स्थानीय भाषामा राखिएको हो। गत वर्ष भारतको राजधानी नयाँ दिल्लीमा यसको प्रकोप फैँलदा बिरामीलाई बाथ रोगमा दिइने औषधिको व्यापक प्रयोग भएको थियो। चिकनगुनिया भाइरसबारे अझैसम्म कम जानकारी मात्र उपलब्ध छ।
नेपालमा बर्सेनि बाथ रोगजस्तो लाग्ने जोर्नी दुख्ने वा सुन्निने क्रम बढ्दो रुपमा देखिएको छ। जोर्नी दुख्ने र सुन्निने दर्जनौँ बिरामीमा चिकनगुनिया भाइरस भेटिएको अवस्थामा यसलाई नजरअन्दाज गर्नु हुँदैन। यसप्रति सम्बन्धित निकाय, चिकित्सक र सर्वसाधारणले चासो दिने बेला आइसकेको छ। लामोसमयदेखि तपाईंको जोर्ने दुख्ने वा सुन्निने गरेको छ भने कतै चिकनगुनिया भाइरसका कारण पो हो कि भनेर जाँच गर्न नभुल्नु होला।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।