काठमाडौंमा- आप्रवासी कामदारको मानव अधिकार संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको छ। मंगलबारबाट सम्मेलन सुरु भएको हो।
तीन दिनसम्म चल्ने सम्मेलनमा ३० मुलुकका ६२ भन्दा बढी प्रतिनिधिहरुको सहभागिता छ। सम्मेलनमा मानव अधिकारका लागि विश्वव्यापी सञ्जाल, भारत, बङ्गलादेश, माल्दिभ्स, मलेसिया, कतार, थाइल्याण्ड, मङ्गोलिया, दक्षिण अफ्रिका, केन्यालगायत श्रमिक लिने र आपूर्ति गर्ने मुलुकका मानवअधिकारका क्षेत्रमा क्रियाशील संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको छ।
विज्ञसहितको सो सम्मेलनमा विभिन्न ५ विषयमा छलफल हुने राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ।
आयोगका अनुसार ‘आप्रवासन सुशासन र आप्रवासी कामदारका अधिकार’, ‘निष्पक्ष र जिम्मेवार कामदारको भर्ना’,‘अनियमित आप्रवासन’, ‘आप्रवासी कामदारको न्यायमा पहुँच’ र ‘आप्रवासी कामदारको अधिकार प्रवर्द्धन र ‘संरक्षणमा विश्वव्यापी सञ्जालसँगको सहकार्य’ विषयमा गम्भीर छलफल हुनेछ।
नेपाल सरकारको आर्थिक सहयोगमा हुने सम्मेलनमा अन्तरराष्ट्रिय श्रम संगठन (आइएलओ), अन्तरराष्ट्रिय आप्रवासन संगठन (आइओएम), संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) ले सहजीकरण गर्ने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।