काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नति ठेक्का सम्झौता रद्द विवादका विषयमा स्पेनिस निर्माण कम्पनी सान्जोसेले (आरबीटेसन) सिंगापुरको अन्तर्राष्ट्रिय अदालतमा दर्ता गराएको मुद्दाको सुनवाइ सुरु भएको छ। सिंगापुरको अन्तर्राष्ट्रिय अदालतमा दर्ता भएको मुद्दाकाे सुनवाइ साेमबारदेखि सुरु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले स्रोतले जनाएको छ।
मुद्दा सुनवाइ प्रक्रियाका लागि नेपालबाट विमानस्थल स्तरोन्नति आयोजना प्रमुख बाबुराम पौडेल सिंगापुर पुगेका छन्। मुद्दाको विषयमा आजभोलिमै केही किनारा लाग्ने प्राधिकरण स्रोतले जनाएको छ।
सान्जाेसे र प्राधिकरणबीच सन् २०१२ मार्चमा तीन अर्ब ८१ करोड रुपैयाँमा विमानस्थल स्तरोन्नति गर्ने सम्झौता भएको थियो। सम्झौताअनुसार सन् २०१६ मार्चमा काम सकिनुपर्ने थियो। तर, निर्धारित समयमा १७ प्रतिशतमात्र काम सम्पन्न भएको भन्दै प्राधिकरणले २०७३ मंसिर २४ गते सबै स्टेक होल्डरको सहमतिमा सम्झौता रद्द गरेको थियो।
निर्माण कम्पनीले सन् २०१६ को मार्चमा विमानस्थल स्तरोन्नतिको काम पूरा गर्नुपर्ने थियो। तर, ठेक्कामा असहमति जनाउँदै प्राधिकरण र निर्माण कम्पनी सान्जोसेकाे सहमतिमा नेपाल काउन्सिल अफ आरबीटेसन (नेपाल मथ्यस्त परिषद्)को विवाद समाधान समिति (डिस्प्युट बोर्ड)मा उजुरी दर्ता गराएका थिए। बोर्डमा दुबै पक्षले २०१७ जुनमा उजुरी दर्ता गराएका थिए।
उजुरी उपर बोर्डले २०७४ पुसमा प्राधिकरणको पक्षमा निर्णय सुनाएको थियो। बोर्ड निर्णय चितबुझ्दो नरहेको भन्दै सान्जोसे सिंगापुरको अन्तर्राष्ट्रिय अदालतमा पुगेको थियो। डिस्प्युट बोर्डमा दर्ता भएको उजुरीमा नेपाल नागरिक उड्यन प्राधिकरणको पक्षमा फैसला भएको छ।
बोर्डले प्राधिकरणको दाबी सत्य रहेको भन्दै फैसला गरेको थियो। बोर्डमा दुवै पक्षले गत जुनमा निर्माण ठेक्का सम्झातौ रद्द हुँदा आफूलाई भएको क्षति दाबी गर्दै उजुरी दर्ता गराएका थिए। प्राधिकरणले विमानस्थल स्तरोन्नतिको काममा स्पानेसि निर्माण कम्पनी सान्जोसेको लापबाहीका कारण देशको एकमात्रै अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको समय लम्बिएको र लागतमा समेत आफूहरूलाई क्षति पुगेको दाबीसहित उजुरी गरेकाे थियाे।
बोर्डमा निर्माण कम्पनी सान्जोसेले पनि नेपाल सरकार र प्राधिकरणका कारण आफूले काम गर्न नसकेकोे दाबीसहित क्षतिपूर्ति पाउनुपर्ने भन्दै उजुरी गरेको थियो। प्राधिकरणले विनाशकारी भूकम्प र भारतीय नाकाबन्दीका कारण पनि विमानस्थल निर्माणमा अवरोध उत्पन्न भएको भन्दै एक वर्षको समय थप गरेर सन् २०१६ मार्चका पुर्याएको थियो। समय थपेसँगै कम्पनीले एक हजार ९५ दिनमा सबै काम सक्नुपर्ने हुन्थ्यो। तर, लापरबाहकी कारण १७ प्रतिशतमात्र सम्पन्न भएको थियो।
निर्माण कम्पनी सान्जाेसेले पहिलो चरणमा विमानस्थलको हवाई पूर्वाधार निर्माण, धावनमार्ग तीन सय मिटर विस्तार, अन्तर्राष्ट्रिय एप्रोन र ट्याक्सी वे, ढल निकास, पावर सप्लाइ र जनेरेटर, एयर फोर्स लाइट सिस्टम, फोहोर प्रशोधन केन्द्र, जहाजबाट आउने फोहोर व्यवस्थापनको काम र दमकल उपलब्ध गराउने लगायत थियो। तर, यस अवधिमा कम्पनीले दमकल ल्याउने बाहेक खासै काम गरेको थिएन्।
सान्जोसेले पहिलो समूहअन्तर्गत रहेको काममा कुल १६.५३ प्रतिशतमात्र गरेको थियो। यसैगरी दोस्रो तहको काममा अन्तर्राष्ट्रिय र आन्तरिक टर्मिनल भवन, जेनेरेटर हाउस, पम्प हाउस र बत्तीको सवस्टेन निर्माणमा ११.४ प्रतिशत मात्र प्रगति हासिल प्राधिकरणको प्रतिवेदनमा उल्लेख छ।
तेस्रो चरणको काममा निर्माण कम्पनीले केही काम गरेको थियो। यसमा सिमिकोट र रारा विमानस्थलका लागि आवश्यक जलवायु मापन सम्बन्धी उपकरण उपलब्ध गराउने भन्ने सम्झौता भएको थियो। निर्माण कम्पनीले सामन खरिद गरे पनि हस्तान्तरण भने गरिसकेको थिएन।
निर्माण कम्पनीको ठेक्का रद्द हुँदासम्म आर्थिक रूपमा १६.५५ प्रतिशतमात्र काम भएको प्राधिकरणको निष्कर्ष थियो। प्राधिकरणले तयार पारेको प्रतिवेदनमा पहिलो चरणमा १६.३६, दोस्रो चरणमा ८.०१ र तेस्रो चरणमा ४८.८० प्रतिशत काम सम्पन्न भएको छ। तर, निर्माण सम्झौता हुँदा नै ३० प्रतिशत काम नभएसम्म दोस्रो रकम लिन नपाउने व्यवस्था हुँदा कम्पनीले रकम लिएको थिएन।
सान्जोसेले ६ तहमा एक अर्ब ६५ करोड ८२ लाख ३३ हजार नौ सय ३८ रुपैयाँ धरौटी राख्दै त्यति नै रकम लिएको थियो। तर, ठेक्का रद्द भएसँगै निर्माण कम्पनीले दाखिल गरेको रकम प्राधिकरणकाे खातामा आइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।