नयाँ दिल्ली (एजेन्सी)– बलिउडकी चर्चित नायिका श्रीदेवीको मृत्युको फोरेन्सिक रिपोर्ट सोमबार सार्वजनिक भएको छ। जसमा उनको निधन हृदयाघातका कारण नभई पानीमा डुबेर भएको देखिएको छ।
यसको जानकारी दुबईबाट प्रकाशित समाचार एजेन्सी एएनआईले दिएको हो। फोरेन्सिक रिपोर्टको औपचारिक रिपोर्ट घर परिवारलाई सुम्पिसकेको बताइएको छ। तर, परिवारले यसको आधिकारिक जानकारी दिएका छैनन्। पहिले उनको निधन हृदयाघातका कारण भएको बताइएको थियो।
श्रीदेवीको अन्त्येष्टि सोमबार राति नै मुम्बईमा गर्ने बताइएको छ। कानुनी प्रक्रियामा समय लागेपछि उनको पार्थिव शरीरलाई भारत ल्याउन ढिलो भएको थियो।

मुम्बईको विले पार्लेस्थित पवन हंस शवदाह गृहमा श्रीदेवीको सोमबार नै दाहसंस्कार गर्ने तयारी सुरु भइसकेको छ। दाहगृहलाई सफा गर्ने काम भइरहेको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन्। बलिउडकी पहिलो सुपरस्टार अभिनेत्री श्रीदेवीको गत शनिवार राती ५४ वर्षको उमेरमा निधन भएको थियो। उनको अन्तिम संस्कार राजकीय सम्मानका साथ हुने बताइएको छ।
उनी आफ्नो भान्जाको विहेमा सहभागी हुन गत साता परिवारसहित दुबई पुगेकी थिइन्। श्रीदेवीको श्रद्धान्जली सभामा भाग लिन बलिउडका स्टार कलाकारहरू मुम्बईस्थित बोनी कपुरको घर पुगिसकेका छन्। उनको पार्थिव शरीरलाई अनिल अम्बानीको नीजि विमानमा ल्याउने तयारी गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।