काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन्।
प्रधानमन्त्री ओलीले एमाले र माओवादीबाट २/२ मन्त्री समावेश गर्दै दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन्। अब मन्त्रिपरिषद् ७ सदस्यीय बनेको छ।
सत्तारुढ दुवै दलमा मन्त्रीका आकांक्षी धेरै भएपछि मन्त्रीमण्डललाई पूर्णता दिने प्रधानमन्त्रीको ओलीको तयारी भने पूरा हुन पाएन।
एमालेबाट रक्षामन्त्रीमा ईश्वर पोखरेल र अर्थमन्त्रीमा युवराज खतिवडा तथा माओवादीबाट गृहमन्त्रीमा रामबहादुर थापा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा मातृका यादवले सपथ लिएका हुन्। उनीहरुले प्रधानमन्त्रीको उपस्थितिमा शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको सपथ लिए।

एमाले र माओवादीले मधेसकेन्द्रित दल संघीय समाजवादी फोरमलाई समेत सरकारमा ल्याउने कोसिस गरेका थिए। प्राविधिक कारणले फोरमबाट सरकारमा सहभागी गराउन नसकिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। फोरम अध्यक्ष उपेन्द्र यादव परराष्ट्रमन्त्रीको रुपमा नयाँ सरकारमा सहभागी हुने तयारी गरेका छन्।

फागुन ३ गते प्रधानमन्त्रीको सपथ लिएका ओलीले सोही दिन एमालेबाट २ मन्त्री समावेश गर्दै मन्त्रिपरिषद् गठन गरेका थिए। प्रधानमन्त्रीसँगै जनसंख्या तथा वातावरणमन्त्रीको रुपमा लालबाबु पण्डित र महिला बालबालिका तथा समाजकल्याण मन्त्रीमा थपमाया थापाले सपथ लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।