काठमाडौं- साताको दोस्रो कारोबारको दिन नेप्से परिसूचक १५ दशमलव ७८ अंकले घटेर १ हजार ३ सय ५८ दशमलव ९५ अंकको बिन्दुमा रोकिएको छ।
सोमबार परिसूचक घटे पनि कारोबार रकममा भने उल्लेख्य सुधार आएको छ। कारोबार रकममा सुधार आएसँगै बजारले सकारात्मक गति लिने सेयर बजारका जानकारहरु बताउँछन्।
सोमबार १ सय ५१ कम्पनीको ५५ करोड २४ लाख २० हजार २ सय ७० रुपैयाँ बराबरको सेयर किनबेच भएका छन्। जबकि आइतबारको कारोबारमा २९ करोड १८ लाख १७ हजार १ सय ८ रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो।
सोमबार कारोबारमा आएका सबै समूहमा गिरावट आएको छ। बिमा समूहमा १ सय २२ दशमलव ५ अंकले गिरावट आएको छ। त्यस्तै, उत्पादन तथा प्रशोधन समूहमा ३२ दशमलब ४२ अंकको गिरावट आएको छ। माइक्रोफाइनान्स समूह ३० दशमलव १६ अंकले घटेको छ।
सोमबार मात्रै आकर्षक लाभांश घोषणा गरेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ। कम्पनीको १० करोड ५६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, प्रभु बैंकको ५ करोड ९० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएका छन्।
राष्ट्रिय बीमा कम्पनीको ‘प्रमोटर’ सेयरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। कम्पनीको सेयर मूल्यमा १ हजार १ सय १७ रुपैयाँ अर्थात् ८ दशमलव ६३ प्रतिशतले गिरावट आएको छ। त्यस्तै, स्वरोजगार लघुवित्तको सेयर मूल्य प्रतिकित्ता १ सय १९ रुपैयाँ अर्थात् ७ दशमलब ५० प्रतिशतले घटेको छ।
सोमबार वर्ल्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। कम्पनीको सेयर मूल्य ५ रुपैयाँ अर्थात् ४ दशमलव २४ प्रतिशतले बढेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।