काठमाडौं– चैत १६ लाई रिलिज मिति तय गरेको फिल्म ‘ह्याप्पी डेज’ले प्रदर्शन मिति पुनः परिवर्तन गरेको छ। फिल्मले प्रदर्शन मितिलाई 'प्रिपोन्ड' गर्दै चैत्र २ लाई तय गरेको निर्देशक मिलन चाम्सले जानकारी दिए।
निर्देशक चाम्सले प्राविधिक कारणले फिल्मको प्रदर्शन मिति सार्न वाध्य भएको बताए पनि यसको भित्री कारण भने चर्चित बलिउड फिल्मसँग जुध्ने भएकाले हो। सुरुमा पुस १५ मा रिलिज मिति तय गर्दै तयारीमा जुटेको फिल्म युनिटले प्रदर्शन मिति माघ १२ मा पुर्याईयो। पुस १५ मा दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको फिल्म '०.२' प्रदर्शनमा आउने भएको थियो। पछि उक्त फिल्म पनि निर्माण कार्य नसेको भन्दै प्रदर्शनमा आएन। ह्याप्पी डेजले माघ १२ लाई पनि प्रदर्शन मिति कायम राख्न सकेन। त्यसदिन बलिउडका २ बहुप्रतिक्षीत फिल्म 'पद्मावत्' र 'प्याडम्यान' प्रदर्शनमा आउने भएपछि निर्देशक चाम्सले चैत्र १६ लाई ह्याप्पी डेजको नयाँ रिलिज मिति कायम गरे।
चाम्सका लागि तेस्रो मिति पनि जुरेन। उनले तय गरेको चैत्र १६ मा अर्को बलिउड फिल्म टाइगर श्रफ अभिनित 'बागी २' ले दमदार ट्रेलरसहित रिलिज मिति कायम गर्योग। यसबाट पन्छिन निर्देशक चाम्सले ह्याप्पी डेजलाई पुनः २ साताअघि नै प्रदर्शन गर्ने योजनासहित चैत २ को मिति तय गरेका हुन्।
त्यसो त फिल्मले चौथो पटक आएर प्रदर्शनको मिति चैत २ लाई कायम गरे पनि त्यस दिन पनि उसले सोलो रिलिजको मौका भने पाएको छैन। चैत्र २ मै झरना थापा, दीलिप रायमाझी अभिनित फिल्म 'डेस्टिनेसन काठमाडौं' तथा सरोज खनाल र निता ढुंगाना अभिनित 'पञ्चायत' पनि प्रदर्शनमा आउँदै छ। सोही मितिमा अजय देवगनको बलिउड फिल्म 'रेड' पनि प्रदर्शनमा आउँदैछ।
नयाँ प्रचार शैलीमा ‘ह्याप्पी डेज’
बलिउड फिल्महरुको प्रदर्शनले मिति हेरफेरमा ब्यस्त ‘ह्याप्पी डेज’ले प्रचार शैलीलाई अझ प्रभावकारी बनाउनेतर्फ जुटेको छ। निर्माण पक्षले फिल्ममा समावेस ‘चेप्टे चेप्टे पेरुंगो’ बोलको गीतमा कभर भिडियो प्रतिस्पर्धाको घोषणा गरेको छ।
फिल्मको उक्त गीतमा इच्छुक व्यक्ति वा समूहले कभर भिडियो बनाएर जुन सुकै युट्युब च्यानबाट अपलोड गर्न सक्नेछन्। अपलोड भिडियो फिल्मको अफिसियल फेसबुक पेजमा ट्याग गरी बढीभन्दा बढी दर्शक संख्या प्राप्त गर्ने भिडियोलाई १ लाख रुपैयाँ पुरस्कार दिइने निर्देशक चाम्सले बताए। यसका लागि फागुन मसान्तसम्मको समयलाई मान्यता दिइने जनाइएको छ।
फिल्म ह्याप्पी डेजमा दयाहाङ राई, प्रियंका कार्की, सञ्जय गुप्ता, विक्की जोशी, शिशिर राणा, रुपा पुन, रिकेश चाम्स र जेन बकल लागायतको अभिनय छ। फिल्मलाई बिपी खनाल, भवानी शर्मा, हिराल जोशी, मिलन चाम्स र डा अशोक खनालले संयुक्त रुपमा निर्माण गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।