मुम्बई (एजेन्सी)– चर्चित अभिनेत्री श्रीदेवीको निधनको रहस्य बिस्तारै खुल्दै गइरहेको छ। दुबईबाट प्रकाशित हुने खलिज टाइम्सले प्रकाशित गरेको समाचारमा श्रीदेवीको निधनसँग जोडिएको थुप्रै तथ्य बाहिर ल्याएको छ।
खलिज टाइम्सका अनुसार आफ्नो भान्जाको विवाहमा समावेश भएर श्रीदेवीका श्रीमान् बोनी कपुर मुम्बई फर्किसकेका थिए। तर, उनी श्रीदेवीलाई ठूलो सरप्राइज दिन शनिबार नै दुबई फर्किएका थिए।
बोनीसहित कपुर परिवार मोहित मारवाहको विवाहमा सहभागी हुन गत साता मुम्बईबाट दुबईतर्फ लागेका थिए। विवाह सम्पन्न भइसकेपछि परिवारका प्रायः सबै सदस्य मुम्बई फर्किसकेका थिए। बोनी पनि जेठी छोरी जाह्न्वी फिल्मको सुटिङका कारण मुम्बईमै भएको अवस्थामा छिट्टै घर फर्किएका थिए।
श्रीदेवी भने केही दिनका लागि दुबईमै थिइन्। बोनी आफ्नो श्रीमतीलाई ‘ड्रिम डिनर डेट’ मा लैजान शनिबार नै दुबई फर्किएको पारिवारिक श्रोतलाई उल्लेख गर्दै खलिज टाइम्सले लेखेको छ।
पत्रिकाका अनुसार बोनी शनिवार साढे ५ बजे साँझ दुबईको जुमेरा एमिरेट्स टावर्स होटलमा पुगेका थिए। जहाँ श्रीदेवी बसेकी थिइन्। उनी होटलमा पुग्दा श्रीदेवी सुतिरहेकी थिइन्। उनले होटलको कोठामा पुगेर श्रीदेवीलाई उठाएका थिए। १५ मिनेटसम्म उनीहरू बीच कुराकानी भएको थियो। बोनीले आफ्नो श्रीमतीलाई डिनरको प्रस्ताव गरेपछि श्रीदेवी तयारीका लागि बाथरुम गएको बताइएको छ।
कोठामा बसेका बोनीले १५ मिनेटसम्म श्रीदेवीलाई कुरेका थिए। बाथरुमबाट श्रीदेवी ननिस्किएपछि बोनीले ढोकाबाट आवाज दिएका थिए। तर, भित्रबाट कुनै प्रतिक्रिया नआएपछि उनी बाथरुममा प्रवेश गरे। जहाँ बाथटबमा श्रीदेवी अचेत अवस्थामा थिइन्।
खलिज टाइम्सका अनुसार बोनीले उनलाई उठाउने धेरै प्रयास गरे। तर, श्रीदेवीको शरीरले कुनै प्रतिक्रिया नदेखाएपछि अतालिएका बोनीले आफ्नो एक साथीलाई तुरुन्त बोलाएका थिए।
राति करिब ९ बजे बोनीले प्रहरीलाई सूचना दिएको बताइएको छ। प्रहरी पुग्दा श्रीदेवीले संसार छोडिसकेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।