काठमाडौं– सुन्धाराको एक गेस्ट हाउसमा शनिबार बिहान युवतीको मृत्यु प्रकरणमा गायक असब सेवा पनि पक्राउ परेका छन्। घटनामा उनको समेत संलग्नताको आशंकामा प्रहरीले थुनामा राखी मुद्दा अघि बढाएको छ।
उदयरपुरको कटारी घर भई ललितपुरको हात्तिवन बस्दै आएकी २४ वर्षीया शर्मिला राउत सुन्धाराको होटल 'निकुद एन्ड गेस्ट हाउस'मा मृत भेटिएकी थिइन्। प्रेमी विशाल खड्कासँगै होटलमा बसेकी उनी मृत भेटिएकी हुन्।
शर्मिला र विशालसँगै गायक सेवा र विपिन मैनाली पनि सोही होटलमा गएका थिए। मृतकका परिवारले तीनै जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका छन्। तीनै जनाविरुद्ध मुद्दा अघि बढाइएको महानगरीय प्रहरी वृत्त जनसेवाका डिएसपी टेकुनन्द लिम्बुले बताए।
युवतीका प्रेमी खड्का रिन्को ओभरसिजका मेनेजर हुन्। शर्मिला पनि पहिला सोही मेनपावारमा काम गर्दथिन्। प्रहरीका अनुसार चारै जना कोटेश्वरको एक रेस्टुरेन्टमा मदिरा पिएर होटलमा गएका थिए।
विपिन र असब अर्काे कोठामा बसेका थिए। बेलुका प्रेमिकासँग आफ्नो सम्बन्ध भएको तर कुनै विवाद नभएको खड्काले दाबी गरेका छन्।
बिहान उठ्दा प्रेमिका झुन्डिरहेको अवस्थामा भेटेपछि उनलाई निकालेर प्रहरीमा खबर गरेको खड्काको भनाइ छ।
पोस्टमार्टम रिपोर्ट आएपछि मात्र हत्या वा आत्महत्या भन्न सकिने डिएसपी लिम्बु बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।