धनगढी- सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाशबहादुर रावलका विषयमा प्रहरी र अदालतकै कुरा बाझिएको छ। रावललाई पक्राउ गर्ने सम्बन्धमा अदालतका कुनै पत्र नै नआएको प्रहरीले बताएको छ भने अदालतले भने पक्राउ पुर्जी जारी भइसकेको बताएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक दिनेश आचार्यले प्रदेशका पर्यटन राज्यमन्त्रीसमेत रहेका प्रदेशसभा सदस्य रावलसहित ३६ जनाविरुद्ध अदालतमा उजुरी परेको जानकारी पाएको तर पक्राउ गर्न अदालतबाट कुनै पत्र नआएको बताए। उनले भने, ‘अदालतमा उजुरी परेको छ। तर पक्राउ गर भनेर कुनै पत्र आएको छैन।’ उनले अदालतले पनि स्वयम् पक्राउ गरेर उपस्थित गराउन सक्ने बताए।
उता जिल्ला अदालतका स्रेस्तेदार हरिकृष्ण अवस्थीले भने प्रहरीमा पत्राचार गरिसकेको बताएका छन्। ‘अदालतमा उपस्थित भएका अधिकांशलाई धरौटीमा र केही साधारण तारेखमा छुटेका छन्,’ अदालतका स्रेस्तेदार हरिकृष्ण अवस्थीले भने, ‘हाजिर नभएकालाई अदालत उपस्थित गराउन भनी प्रहरीमा पत्राचार गरेका छौं।’ यसरी फरार मन्त्री पक्राउ गर्ने पत्र नै फरार भएको देखिएको छ।
मुद्दा दर्ता भएको तीन महिना पुग्नै लाग्दा समेत उनी अदालतमा हाजिर भएका छैनन्। कञ्चनपुर जिल्ला अदालतका अनुसार मुद्दा दर्ता भएको सात/आठ दिनमै पक्राउ पुर्जी जारी गरिएको थियो। ‘पक्राउ पुर्जी जारी भएको महिनौ पुग्दा समेत उनीसहित अधिकांश व्यक्तिहरु अदालतमा उपस्थिति भएका छैनन्,’ अदालत स्रोतले भन्यो, 'अदालतमा भोलानाथ शर्मा, नवराज जोशीसहित १२ जना अदालतमा उपस्थित भइसकेका छन्।
उता राज्यमन्त्री रावलले भने आइतबार नै पदबाट राजीनामा दिएका छन्। राज्यमन्त्री रावलले आफूसहित ३६ जनाविरुद्ध परेको उजुरीमा छानबिन गर्न सहज होस् भनेर मुख्यमन्त्री समक्ष राजीनामा पत्र बुझाएका हुन्। राज्यमन्त्री रावलसहित ३६ जनाविरुद्ध जनज्योती बहुमुखी क्याम्पसको शेयरमा ठगी तथा कागज कीर्ते गरेको आरोपसहित साउन ७ गते जिल्ला अदालत कञ्चनपुरमा अदालतमा उजुरी दर्ता भएको थियो। विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन भएपछि दबाबमा आएर उनले राजीनामा दिएको स्रोतले जनाएको छ।
कञ्चनपुरको जनज्योति बहुमुखी क्याम्पसको १५ करोड ६७ लाख ५० हजार सेयरबापतको रकममा ठगी र कागज कीर्ते गरेको सो आरोपपत्रमा उल्लेख छ। भीमदत्त नगरपालिकाका ताराप्रसाद जोशी समेत गरी १० जनाले राज्यमन्त्री रावल सहितका ३६ जना विरुद्ध ठगी र कागज किर्ते गरेको सम्बन्धी मुद्दा दर्ता गराएका थिए।
मुद्दा परेका पर्यटन राज्यमन्त्री प्रकाश रावल, क्याम्पस प्रमुख भोलानाथ शर्मा लगायतका २९ जना क्याम्पसका लगानीकर्ता हुन् भने अन्य सात जना अडिटर, वकिललगायत रहेका छन्।
रावल भन्छन्- अदालतमा उपस्थित हुनै पर्यो
राजीनामा दिनुअघि नेपाल लाइभसँगको कुराकानीमा राज्यमन्त्री रावलले अदालतमा हाजिर हुने प्रतिक्रिया दिएका छन्। ‘मलाई जानकारी नै नगराई म विरुद्ध झुठो उजुरी दर्ता गरियो,’ उनले भने, ‘अदालतमा मुद्दा दर्ता भएपछि उपस्थित त हुनै पर्यो।’ आफूले अहिलेसम्म अदालतबाट उपस्थित हुनका लागि कुनै पनि पत्र नपाएको उनको दाबी छ।
‘मलाई उपस्थित हुन भनेर अदालतबाट अहिलेसम्म कुनै पनि पत्र आएको छैन। तर, सञ्चारमाध्यममा म फरार रहेको भनेर सूचना संप्रेषण भइरहेको छ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।