धनगढी- निर्माण व्यवसायीहरुको प्रदेशस्तरीय भेला सम्पन्न भएको छ। निर्माण व्यवसायीहरुको प्रदेश ७ स्तरीय भेलामा व्यवसायीहरुले संघीय संरचनामा मुलुक गएपछि पुरानै संरचना अनुसार थालेको काम अन्यौलमा परेको भन्दै गुनासो गरेका थिए। भेला समापन कार्यक्रममा महासंघका केन्द्रीय अध्यक्ष विष्णु भाई श्रेष्ठले विभिन्न मन्त्रालयबाट देशभरि करिब ३० अर्बभन्दा बढी बजेट निकासा नभएका कारण निर्माण व्यवसायी मारमा परेको बताए।
उनले पटक–पटक सरकारसँग भुक्तानीका लागि माग गर्दा पनि कुनै पहल कदमी नभएको गुनासो गरे। अध्यक्ष श्रेष्ठले निर्माण व्यवसायीले काम सम्पन्न गरे पनि भुक्तानी नपाएपछि व्यवसायीले कर पनि समयमै तिर्न नसकेको बताउँदै यसले समग्र अर्थतन्त्रमा प्रतिकूल प्रभाव पारिरहेको बताए। उनले भने, 'भुक्तानी नहुँदा बजारमा बैकिङ तरलता पनि अभाव भएको छ।'
स्थानीय तह, प्रदेश र केन्द्रका रुपमा नयाँ व्यवस्था लागू भएसँगै निर्माण व्यवसायीहरुले पहिलेदेखि गर्दै आएका काम अब के हुने भन्ने अन्यौल बढेको र भुक्तानिका लागि समस्या आएको बताए।
आइतबार सम्पन्न भेलाले प्रदेश ७ को निर्माण व्यवसायी महासंघमा मदनबहादुर कुँवरको अध्यक्षतामा तदर्थ समिति गठन गरेको छ। भेलाको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहोराले उद्घाटन गरेका थिए।
भेलापछि बसेको बैठकले प्रदेश सरकारले निर्माण व्यवसायीमैत्री ऐन नियमावली बनाउनुपर्ने, निर्माण व्यवसायीलाई भयरहित वातावरणमा काम गर्ने अवस्था सिर्जना गर्नुपर्ने, उपभोक्ता समितिमार्फत कुनै पनि निर्माण कार्यको सम्झौता गर्न नहुने लगायतका माग अघि सारेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।