खुसी नम्बर १
स्वाभाविक रुपमा आज म असाध्यै खुसी छु। म जन्मेको दिन मात्रै नभएर आज मैले अविरल वर्षापछि आएको बाढीका कारण पीडित रौतहटको चन्द्रपुर नगरपालिका वडा नं ८ स्थित सन्तपुरका दलित बस्तीका लागि घर बनाउने काम थालेको छु। २ सय ८० जनाका लागि ४५ वटा आवासीय घरसहितको ‘एकीकृत नमुना सन्तपुर बस्ती’ निर्माण थालिएको हो। वर्षौंदेखि चरम गरिबीको चपेटामा रहेको यस बस्तीलाई बाढीले अझै धेरै दुःख दियो। उहाँहरुको न टाउको लुकाउने ओत छ न खाने टुंगो। मात्र छ, फेरि बाढी आउने पो हो कि भन्ने पीर। बस्तीमा माझी, दुसार, लोहार, मुसहर र हजाम जातिको बसोबास छ। उहाँहरुको अनुहारमा खुसी ल्याउनु नै मेरो खुसी हो।
खुसी नम्बर २
आज म जे छु, जे गर्दैछु यो मेरो कारणले मात्रै सम्भव भएको होइन। मेरा कदममा कदम मिलाउने जीवनसाथी (कुञ्जना घिमिरे- सुन्तली) पाएको छु। आफ्नै क्षेत्रको र आफूलाई बुझ्ने उनीसँग विवाह हुनु मेरा लागि धेरै ठूलो खुसीको कुरा हो। विवाहको बेला हामीले त्यस्तै १५ सय जनाजति बोलाएका थियौँ। तर, दर्शक धुर्मुस र सुन्तलीको विवाह भन्दै ओइरिए। हाम्रो विवाहमा मान्छे त ८ हजारभन्दा बढी भए। दर्शकको त्यो मायाममता र विवाहमा देखिएको रौनकले सम्झायो काठमाडौँमा संघर्षका क्रममा खेपेका अनेक दुःखदर्द। त्यसपछि बूढी र म खुसीले रातभरि रोयौँ।
२०७० फागुन ३० गते बिहान ७:१५ बजे मेरो जीवनमा खुसी थप्न आइपुगिन् छोरी। म जीवनमा धेरै खुसी भएको क्षण मध्येको एक हो त्यो। त्यो दिन खुसीले धेरै रोएँ। किनभने, १७ सय रुपैयाँ र तन्ना चोरेर काठमाडौँ पसेको मान्छेलाई काठमाडौँले माया गर्ने श्रीमती, बस्ने घर र छोरी दियो। म पूर्ण भएँ भन्ने लागेर असाध्यै खुसी भएको थिएँ त्यो दिन।
खुसी ३
काठमाडौंमा संघर्ष गर्दागर्दा म एकदमै फ्रस्ट्रेसनमा गइसकेको थिएँ। यही समयमा मोहन निरौला दाइले परिवर्तन नेपालमा बोलाउनुभयो। सडक नाटक खेल्न अफर गर्नुभयो। नाटक खेलेपछि उहाँले पारिश्रमिक दिनुभयो। त्यो पारिश्रमिक पाउँदा म धेरै रोएको थिएँ। अभिनय देखाएर पहिलोपल्ट पारिश्रमिक पाइएको थियो। त्यसपछि कलाकार खेम शर्मा ‘चतुरे’ले हरेस खानु हुँदैन भनेर ढाडस मात्रै दिनुभएन, अनामनगरको अँध्यारो कोठाबाट उद्धार गरेर बबरमहलमा राम्रो कोठा खोजिदिनुभएको दिन रोएँ। जितु नेपाल दाइले आरआर क्याम्पसमा भेट हुँदा गीताञ्जली नामक सिरियलका लागि स्क्रिप्ट लेख्न दिँदा र अभिनय गर्न पाउँदा असाध्यै खुसी भएँ।
खुसी ४
भूकम्प आउँदा हामी अमेरिकामा कार्यक्रम गरिरहेका थियौँ। नेपालमा भूकम्प आएपछि सञ्चारमाध्यममा ध्वस्त भएका दृश्य मात्रै देख्यौँ। हाम्रो देश त केही रहेन भनेर कुञ्जना र म निकै रोयौँ। नेपाल फर्किएपछि राहतमा जुट्यौँ। तत्कालीन राहतले मात्रै मन बुझेन। हामीले नमुना बस्ती बनाउने अभियान थाल्यौँ। झन्डै २ महिनाको मेहनतपछि काभ्रेको पलाञ्चोक भगवती मन्दिर नजिक रहेको पहरी बस्तीमा बनाएको ‘धुर्मुस सुन्तली एकीकृत नमुना बस्ती’ हस्तान्तरण गर्न सकियो। २०७२ बैसाख १२ गतेको विनाशकारी भूकम्पपछि पहरी समुदायका अधिकांशको घर ध्वस्त भएका थिए। हामीले बस्ती हस्तान्तरण गर्ने समयमा एक जना बूढी आमैले भन्नुभयो, ‘हामीले नबोल्ने पलाञ्चोक भगवतीलाई कति फूल चढायौँ कति। तर, पनि यस्तो भयो। आज बोल्ने भगवानले घर बनाइदिए।’ त्यसपछि आँसु थाम्नै सकिएन। खुसीले निकै भावुक भएँ लामो समयसम्मै।
खुसी ५
हामीले २०७३ पुस २५ गते बर्दिबास २ को मुसहर समुदायका लागि निर्माण थालेको एकीकृत नमुना बस्ती २०७४ बैसाख १ गते हस्तान्तरण गर्ने घोषणा गरेका थियौं। योजनाअनुसार नै हस्तान्तरण गर्न सकियो। सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) फाउन्डेशन मार्फत बनाएको ५३ वटा भवन हस्तान्तरणको क्षण मेरो अर्को खुसीको क्षण हो। आदरणीय कलाकार महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले एकीकृत मुसहर बस्ती संरक्षण समितिका अध्यक्ष बिल्तु सदालाई साँचो दिएर भवन हस्तान्तरण गर्नुभएको छ। हामीले ३ कोठा, बरन्डा र चोटासहितको ५० आवासीय घर, एउटा सामुदायिक भवन र मुसहर समुदायको कुलदेवता दिनाभद्रीको मन्दिर निर्माण गरेका थियौं। बस्तीका ३ वटा घर भने गैरमुसहरका लागि उपलब्ध गराएका थियौं।
दुःख १
कलाकारितामा केही गर्ने रहर जागिसकेको थियो। त्यसैले काठमाडौँ आउने विचार गरेँ। तर, काठमाडौँ पठाएर खर्च धान्ने घरको अवस्था थिएन। बाले रिनधन गरे। जम्मा १७ सय रुपैयाँ भएछ। पैसा थमाइदिँदै योभन्दा बढी जुटाउन सकिनँ भनेर बुबा भावुक हुनुभयो। म पनि रोएँ। आउँदा घरबाट थाहै नदिई तन्ना पनि लिएर हिँडे। आफ्नो परिवारको अवस्था हेरेर बाटाभरि मन भक्कानिरह्यो। यो एकदमै दुःखको क्षण थियो।
दुःख २
कलाकार हुन काठमाडौँमा अनेक प्रयत्न गर्नुपर्यो। सुरुमै आफूले सोचेको जस्तो कहाँ हुनु? घरबाट ल्याएको पैसा पनि सकियो। खानेबस्ने जुक्ति कसरी निकाल्ने? भन्ने कुराले पिरोल्यो। केही समय अर्कैको घरमा बसेर काम गरियो। त्यसपछि काठमाडौँका गल्लीगल्लीमा भाँडा लिएर बेच्न थालियो। भाँडाको भारी बोकेर कराउँदै बेचियो। मैले कराही, मैनबत्ती स्ट्यान्ड, ग्यास सकिन लागेको–नलागेको जाँच्ने यन्त्र बेच्थेँ। एक दिन मैतीदेवीमा भाँडा बेचिरहेको थिएँ। मैले बेचेको भाँडा नक्कली भनेर एक जनाले निहुँ खोज्यो। मैले होइन भनेँ। तर, उसले ‘नक्कली भाँडा बेच्ने?’ भन्दै मलाई भक्कुमार कुट्यो। त्यो कुटाइबाट रातभरि ज्वरो आयो। भोलिपल्टदेखि भाँडा बेच्ने काम पनि छाडिदिएँ। यो असाध्यै दुःख लागेको दिन थियो।
दुःख ३
कलाकार बन्नका लागि दिनभर संघर्ष गर्यो। राति कोठामा आएर सुत्यो; खानाका लागि पैसा हुन्थेन। तरकारी किन्दा तेल किन्ने पैसा हुँदैनथ्यो। बन्दासमेत धेरैपल्ट तेल नहाली पकाएर खाइयो। एकपल्ट त अगाडिको पसलको उधारो धेरै नै भइसकेछ। तिर्ने पैसा थिएन। उसले कोठामै आएर किचकिच गर्न थाल्यो। त्यसपछि साथीभाइलाई बोलाएर कोठाको बाहिरबाट ताला लगाइयो। भित्र यसै गरी २ दिनसम्म बसेँ।
दुःख ४
राष्ट्रिय नाचघरमा अभिनयको प्रशिक्षण फाराम भरेको थिएँ। अडिसन लिइयो। मेरो अभिनय अडिसन लिइरहनुभएका अशेष मल्ल, भुवन चन्दलाई साह्रै राम्रो लागेछ बधाई दिनुभयो। मसँगै अडिसन दिन आएका सबैले ‘निकै राम्रो गर्यौ पक्का छानिन्छौ’ भन्दै बधाई दिए। अडिसन लिइरहनुभएका मदनदास श्रेष्ठले रेडियो नेपालमा जागिर लगाइदिने वाचा गर्नुभयो। म खुसी भएँ। पछि नाचघरले प्रशिक्षण लिन पाउनेहरूको नाम सार्वजनिक गर्यो, मेरो नाम थिएन। रेडियो नेपालमा जागिरको कुरा पनि त्यसै सकियो। त्यसपछि म धेरै दुःखी भएँ। एक खालको डिप्रेसनमै गएँ, क्षमता भएर मात्रै केही हुने रहेनछ भनेर जोसजाँगरै हरायो।
दुःख ५
म काठमाडौँ पुगेकै दिन दुःखद घटना सुनियो। राजा वीरेन्द्रको वंशनाश भएको रहेछ। त्यो उमेरमा राजाप्रति सबैले अर्कै खालको श्रद्धा उब्जाएका थिए। देशकै अभिभावक भनेर हामीलाई भनिएको थियो। मलाई देशकै अभिभावक रहेनन् भन्ने कुराले निकै दुःख लागेको थियो।