रुपन्देही– बुटवल–बेलहिया ६ लेन सडकखण्ड अन्तर्गत मणीग्रामदेखि बुटवल राजमार्ग सम्मको दायाँ–बायाँ र मध्य भाग आकर्षक बनाइएको छ। निमार्ण कार्य सम्पन्न गरिएको सडकलाई सुन्दर र हरियाली बनाउने उद्देश्य अनुरुप ‘ग्रिन बेल्ट’मा फूलबारी बनाएपछि आर्कषक देखिएको छ।
बुटवल वडा नं. १० र ११ को कालिकानगर क्षेत्रका स्थानीय टोल समितिको सक्रियतामा विभिन्न पार्क निर्माण गरी फूलबारी बनाइएको हो। फूलबारी निर्माण गरिएपछि उक्त क्षेत्र सुन्दर देखिएको छ। स्थानीयको अग्रसरतामा निर्माण गरिएको फूलबारीको संरक्षण पनि स्थानीयले नै गर्ने गरेका छन्।
स्थानीयबासीले आफ्नो घर अगाडि सडकको भागमा फूलबारी तथा करेसाबारी निर्माण र रेखदेख गरिरहेका छन्। स्थानीयले आफ्नो घरअगाडिको ग्रिन बेल्टमा फूल तथा तरकारी लगाउने र त्यसलाई पानी मल हाल्ने काम गरिरहेका छन्। सडकको दायाँ–बायाँ रहेको ग्रिनरी जोनमा गुलाव, सयपत्री, गुर्धौली, डालिया जस्ता फूलसँगै धनियाँ, काउली, साग, लसुन आदि तरकारी पनि लगाइएको छ।
ग्रिनरी जोनमा निर्माण गरिएको फूलबारीमा एकैप्रकारका फलामे पाइप र जालीले संरक्षण गरी आकर्षक बनाइएको छ। फूलबारीमा लगाइएका विरुवाहरुको संरक्षण र रेखदेखका लागि विभिन्न तीन स्थानमा सिसीटिभी क्यामेरा जडान गरिएको छ।
६ लेन सडकलाई फूलबारीसहितको नेपालकै नमूना हरियाली सडक बनाउन रकम विनियोजन गरिएको बुटवल उपमहानगरपालिकाले जनाएको छ। उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले वडा नं. १० र ११ अन्तर्गतको सडक क्षेत्रलाई हरियाली बनाउन ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको बताए। उनले भने, ‘आगामी चैत्रभित्र उपमहानगर क्षेत्रभित्र पर्ने ६ लेन सडकको सबै किनारमा हरियाली र आकर्षक फूलबारी निर्माण हुनेछ।’ उनले हरियाली प्रवद्र्धनका लागि आर्थिक व्यवस्थापन उपमहानगरपालिकाले गर्ने उल्लेख गर्दै विरुवाहरुको संरक्षण स्थानीय समुदायले लिनुपर्ने बताए।
जनकल्याण टोल विकास संस्थाको अगुवाइमा ६ लाख रुपैयाँको लागतमा सहिद स्मारक पार्क निर्माण गरिएको संस्थाका अध्यक्ष निर्मल प्रकाश रानाले जानकारी दिए। उनका अनुसार छोउमा रहेको कालिका हरियाली फूलबारी निर्माणमा पनि ४ लाख रुपैयाँ लगानी भएको छ।
कालिका चोक टोल सुधार समितिकी अध्यक्ष सकुन्तला पुनले हाललाई कालिका हरियाली फुलबारीमा १ सय ५० वटा बिरुवाहरु लगाइएको जानकारी दिइन्। ठूला बिरुवाको बीचमा सयपत्री, गोदावरी, डालिया लगायतका मौसमी फूलका बिरुवा लगाएर हरियालीसँगै आकर्षक बनाइने योजना रहेको उनले बताइन्।








नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।