काठमाडौं- आगामी मंसिर १४ मा हुने उपनिर्वाचनका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज उम्मेदवारको टुंगो लगाउने भएका छन्।
नेकपाको सचिवालय बैठक र कांग्रेसको पदाधिकारी बैठक बसेर उम्मेदवारको टुंगो लागउने भएका हुन्।
नेकपा सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ भने कांग्रेस पदाधिकारी बैठक दउँसो ३ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्नेछ।
यसअघि उम्मेदवारको टुंगो लगाउन शनिबार बसेको नेकपा सचिवालयको बैठक विना निष्कर्ष टुंगो थियो। बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले समय अभावका कारण शनिबार उम्मेदवारको चयन हुन नसकेको र आइतबार बस्ने बैठकले उम्मेदवार छनोट गर्ने बताएका थिए।
श्रेष्ठका अनुसार शनिबारको बैठकले तल्ला कमिटीले पठाएका नामहरुको प्रारम्भिक अध्ययन मात्रै गरेको थियो।
देशभरमा प्रतिनिधिसभा सदस्यका लागि लागि हुने एकमात्र निर्वाचन क्षेत्र कास्की-२ मा नेकपाले विद्या भट्टराईको नाम उम्मेदवारको रुपमा अनुमोदन गरेको छ। सचिवलय बैठकपछि प्रतिक्रिया दिँदै नेकपाका एक नेताले तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको निधनपछि रिक्त उक्त स्थानमा उनकै पत्नी विद्यालाई उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिएका हुन्। यद्यपि यसबारेमा हालसम्म औपचारिक घोषणा भने भएको छैन।
नेकपा जिल्ला कमिटीले विद्याको मात्रै नाम सिफारिस गरे पनि गण्डकी प्रदेश कमिटीले भने विद्यासिहत सोमनाथ अधिकारी 'प्यासी' र राजकाजी गुरुङ 'करण'को समेत नाम थपेर केन्द्रमा पठाएको थियो।
उता कांग्रेस सभापति शेर बहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले शुक्रबार तनहुँमा कास्की-२ को उप-निर्वाचनका उम्मेदवारको विषयमा छलफल गरेका थिए।
तनहुँमा हुने एक कार्यक्रमका लागि पोखरा हुँदै दमौली पुगेका देउवाले नेता पौडेलसँग सोबारेमा छलफल गरेका थिए। तनहुँ पुग्नुअघि पोखरामा देउवाले कास्की जिल्ला कार्यसमितिका नेता र आकांक्षी उम्मेदवारसँग छलफलसमेत गरेका थिए।
दुई नेताको छलफलपछि बनेको सहमति अनुरुपनै आइतबारको पदाधिकारी बैठकले उम्मेदवारहरूको नाम सार्वजनिक गर्ने बताइएको छ।
शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले उम्मेदवार छनोट गर्ने अधिकार पदाधिकारीलाई दिएपछि सभापति देउवाले आइतबार ३ बजेका लागि बैठक बोलाएका थिए। पदाधिकारी बैठकमा नेता पौडेल र कृष्ण प्रसाद सिटौला पनि सहभागी हुनेछन्।
मंसिर १४ मा हुने उपनिर्वाचनका लागि कास्की जिल्ला कार्यसमितिले १६ जनाको नाम केन्द्रमा सिफारिस गरेको थियो। केन्द्रमा आएका नाममा खेमराज पौडल, महादेव गुरुङ, सोभियतबहादुर अधिकारी, निर्मल कर्माचार्य, देवराज चालिसे, माधव बास्तोलालगायत छन्।
उपनिर्वाचनका लागि कांग्रेसबाट चार महिला पनि आकांक्षी देखिएका छन्। उम्मेदवार इच्छुक महिलामा लक्ष्मी पाण्डे, खेमकुमारी बराल, रंगिला आचार्य र विमला भण्डारी छन्। साथै ऋषि काफ्ले, कृष्ण कार्की, वीरेन्द्रनारायण विजुक्छे, गुरु बराल, विजय आचार्य, केशव निर्दोषीको नाम पनि १६ जनामा परेको छ।
यसैबीच उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत आजै उम्मेदवारको टुंगो लगाउने भएको छ।
कास्की-२ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवार बन्नका लागि ५ आंकाक्षी देखिएका छन्। जिल्ला कार्यसमितिले डा भीमसेन गुरुङ, रोम बहादुर भण्डारी, जयलाल पुन, कृष्ण बहादुर अधिकारी र इन्दिरा शाहीको नाम सिफारिस गरेको छ।
भक्तपुर जिल्लाको क्षेत्र नम्बर १ ‘क’ मा माधव खत्री, राममणि न्यौपाने, बुद्धि कुमार प्यासी, विष्णु प्रसाद तिमल्सिना, गोकुल खड्का, शिवराज केसीको नाम सिफारिस गरिएको छ।
दाङ-३ ‘ख’ र बागलुङ–२ ‘ख’ मा सर्वसहमतिमा नाम सिफारिस गरिएको छ। दाङ-३ ‘ख’ को प्रदेश सदस्यमा भुपाल रावत र बागलुङ-२ ‘ख’बाट गणेश कुँवरको नाम सिफारिस गरिएको छ।
प्रवक्ता सुशील श्रेष्ठका अनुसार निर्वाचन केन्द्रित बैठक आज बस्ने र सिफारिस भएर आएका नामबाट उम्मेदवारको टुंगो लगाउनेछ।
उपनिर्वाचनका लागि साझा पार्टीले भने कास्की-२ मा रजनी केसीलाई उम्मेदवार बनाएको छ।
मंसिर १४ मा देशभरका १ प्रतिनिधिसभा सदस्यसहित ५२ स्थानका लागि मतदान हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।