राजविराज- प्रहरी तथा भन्सार कर्मचारीको आँखा छली भारत निकासी हुँदै गरेको लाखौं मूल्य बराबरको चाइनिज स्याउ र २ वटा टेम्पोसहित सप्तरी प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ।
राजविराज नगरपालिका १५ का १९ वर्षीय सुजितकुमार यादव र छिन्नमस्ता गाउँपालिका ५ का २८ वर्षीय भोगिलाल शर्मालाई गएराति प्रहरीले पक्राउ गरेको हो।
स्याउ लोड गरिएका दुई वटा टेम्पो राजविराजबाट भारतको कुनौलीतर्फ जाँदै गरेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले तिलाठी–कोइलाडी गाउँपालिका १ स्थित दशगजा आसपासबाट उनीहरुलाई नियन्त्रणमा लिइएको एसपी मुकेशकुमार सिंहले जानकारी दिए।
उनीहरुले स १ ह ७७ र स १ ह १५१ नंंको टेम्पो प्रयोग गरी १ सय वटा कार्टुनमा १ हजार केजी स्याउ भारत निकासी गरिरहेका थिए। स्याउ र टेम्पोसहित करिब २ लाख २० हजारको सामान र पक्राउ दुवैलाई तिलाठीस्थित भन्सार कार्यालयको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
सप्तरीमा यसअघि पनि पटकपटक तस्करी हुँदै गरेको स्याउ पक्राउ परेको थियो। संलग्नलाई प्रहरीले बेलाबखत नियन्त्रणमा लिने गरे पनि तस्करी नियन्त्रण हुन भने सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।