काठमाडौं– नेकपा नेता नारायणकाजी श्रेष्ठ प्रकाश र भीम रावल प्रधानमन्त्री केपी शर्मा ओलीलाई नभेटी अस्पतालबाट फर्किएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको डायलाइसिस भइरहेको नेकपा नेता भीम रावलले बताएका छन्। प्रधानमन्त्री ओली उपचाररत ग्रान्डी इन्टरनेशनल अस्पतालमा भेट्न पुगेका रावलले डायलाइसिस चलिरहेको बताएका हुन्।
प्रधानमन्त्री ओलीको स्वास्थ्यअवस्था बुझ्न अस्पताल पुगेका उनले भने, ‘प्रधानमन्त्रीज्युको मिर्गौलाको डायलाइसिस भइरहेकाले भेट्न पाइएन। उहाँको स्वास्थ्य अवस्था बाहिरै चिकित्सकहरुबाट लिएर फर्कें।’
रावललाई चिकित्सकहरुले प्रधानमन्त्रीको मिर्गौलाको डायलाइसिस चलिरहेकाले भेट्न नमिल्ने बताएका थिए। स्वास्थ्य अवस्थामा सुधारोन्मुख रहेको जानकारी आफूले प्राप्त गरेको उनले बताए।
प्रधानमन्त्रीका सल्लाहकार, उपचारमा संलग्न चिकित्सक, निजी चिकित्सक र अस्पतालले भने डायलाइसिस गरिएको विषय लुकाइरहेको छ। स्वास्थ्य अवस्था सामान्य रहेको बताउँदै विज्ञप्ति जारी गरेको छ। तर, अस्पताल स्रोतले प्रधानमन्त्रीको बुधबार दिउसो दुईबजे नै मिर्गौलाको डाइलाइसिस सुरु गरिएको बताएको थियो। थप दुईपटक डायलाइसिस गरेर मात्रै डिस्चार्ज गर्ने तयारी रहेको पनि स्रोतले जनाएको थियो।
बुधबार दिउसो नै नेकपाका अर्का नेता प्रकाश पनि प्रधानमन्त्री ओलीलाई भेट्न पुगेका थिए। तर, उनले पनि चिकित्सकसँग स्वास्थ्यबार जानकारी लिएर फर्के। फर्किदै गर्दा भने, उहाँकाे उपचार चलिरहेकाले भेट्न पाइएन। चिकित्सकबाट स्वास्थ्यका बारेमा जानकारी लिएर फर्कें।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।