काठमाडौं– एक वर्षदेखि देशको आन्तरिक सुरक्षाको प्रमुख चुनौती बनेका गुन्डा नाइके मनोज पुन बुधबार प्रहरीकै गोलीबाट मारिए। प्रहरीसँगको ‘जम्काभेट’मा पुन र उनका प्रमुख सहयोगी सोम आले रुपन्देहीको देवदहमा मारिएका हुन्।
भारतमा बसेर नेपालमा हत्या र फिरौती असुलीको आतंक मच्चाउँदै आएका उनीहरुको मृत्युपछि गुन्डागर्दी समूह ध्वस्त भएको र अब आतंक बन्द हुने प्रहरीको अपेक्षा छ। तर, उनका सहयोगीहरु भने गुन्डागर्दीमै लाग्न सक्ने विश्लेषणका आधारमा उनीहरुको पनि प्रहरीले खोजी सुरु गरिरहेको छ।
मनोजका अधिकांश सहयोगीहरु पक्राउ परिसकेका छन्। पछिल्लो समय उनका विश्वासपात्र बनेका पदम चौधरीलाई गत महिना प्रहरीले पक्राउ गरेको थियो। चौधरी बसन्त पौडेलको हत्यामा संलग्न थिए।
सोही घटनाका सुटर विवेक नाम गरेका मनोजको गिरोहका सदस्य भने फरार छन्। उनको पूरा नाम र ठेगाना पनि प्रहरीले पत्ता लगाउन सकेको छैन।
त्यस्तै करिब २ वर्ष पुनको गिरोहका काम गरेका लोप्साङ लामा पनि फरार छन्। लोप्साङ गत वर्ष देवदहका दुर्गा तिवारीलाई गोली हान्ने व्यक्ति हुन्। पछिल्लो समय उनी मनोजभन्दा समिरमानसिंह बस्नेतको समूहमा आबद्ध थिए। निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्याका पनि उनी योजनाकार हुन्। उनलाई पनि प्रहरीले पक्राउ गर्न सकेको छैन।
त्यस्तै, मनोज र समिरकै समूहमा आबद्ध बोका भनिने गंगा लिङदेन, काले दाइ भन्ने अम्बरबहादुर राना, रोशन बुढाथोकी, अम्बर राना लगायत फरार छन्।
उनीहरुको पनि खोजी भएको र गुन्डागर्दीको समूह ध्वस्त पार्ने अभियानमा आफूहरु लागेको सिआइबीका एसएसपी घनश्याम अर्याल बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।