महोत्तरी- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनसन बस्ने चेतावनी दिएका छन्। बुधबार महोत्तरीको पिपराहमा नेकपाले आयोजना गरेको ‘छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम’मा बोल्दै प्रचण्डले विकास निर्माणले गति नलिए आफूसमेत अनसन बस्ने स्थिति आउनसक्ने बताएका हुन्।
तराई मधेशमा भइरहेका विभिन्न विकासका आयोजनाको नाम लिएर उनले ति आयोजनाको अहिलेसम्म भइरहेको प्रगतिको अवस्था सुस्त रहेको जनाउँदै सो अवस्था सैह्य नहुने समेत जिकिर गरे।
दोस्रोपटक प्रधानमन्त्री हुँदा शिलान्यास गरेको जनकपुर-भिट्टामोड सडकको कार्यप्रगति निकै सुस्त भएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन्। उनले भने, ‘अहिलेसम्म जे भयो भयो, अब यस्तो ढिलासुस्ती सैह्य हुँदैन। अहिलेसम्म यहाँ रामकुमार शर्माजीहरु मात्रै आन्दोलनमा हुनुहुन्थ्यो। अब पनि ढिलासुस्ती भयो भने मसमेत अनसन बस्न नपरोस्।’
उनले १६ वर्षसम्म हुलाकी सडकको काम अघि नबढेकोप्रति पनि असन्तुष्टि जनाए। भारतले बनाउन सुरु गरेको यो सडक यस्तै अवस्थामा राखे आफूहरुले नै बनाउने कुरा भारतसँग राखिएको उनले जानकारी दिए। नेकपा अध्यक्ष प्रचण्डले समग्र देशको विकास र समृद्धिमा सम्पूर्णरुपले नेकपा समर्पित रहेको दावी गरे।

‘म दोस्रो पटक प्रधानमन्त्री रहँदा काठमाडौं-तराई जोड्ने फास्ट-ट्रयाकको उद्घाटन गरेको थिएँ र उक्त कार्य द्रुत गतिमा अघि बढेको छ,' उनले भने, ‘तराई-मधेस र राजधानी काठमाडौं जोड्ने फास्ट-ट्रयाक निर्माण भएपछि तराई-मधेसका लागि निकै सहज हुने देखिन्छ।’
अहिले जनकपुरबाट पिपराह हुँदै बिर्तामोड जाने सडकसमेत ६ लेनको बनाउने कार्य अघि बढेको उनको भनाइ छ। यस सडकका लागि पनि आफू प्रधानमन्त्री रहँदा एक अर्ब रुपैयाँ विनियोजन गरिएको तथा छिटो सम्पन्न गर्न ठाडो निर्देशनसमेत दिएको उनले स्मरण गरे।
त्यस्तै, निजगढ विमानस्थल निर्माणको तयारी तीव्र रुपमा अघि बढेको बताउँदै प्रचण्डले प्रदेश २ बाट नै पहिलो रेल गुड्ने समेत दावी गरे।
सुनकोशी कमला डाइभर्सन परियोजना अहिलेको सरकारको प्राथमिकतामा रहेको भन्दै केपी ओलिको नेतृत्वको सरकारले यो परियोजना राष्ट्रिय गौरवको रुपमा अघि बढाउन लागेको जानकारी दिए। यो परियोजना बनेपछि लाखौं हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने साथै जलविद्युत उत्पादन गर्न सकिने उनकाे भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।