प्युठान- प्यूठान नगरपालिका-४ जुम्रीका राधा अधिकारी र रेखा खत्रीलाई अरु बेला जस्तो फुर्सद छैन यतिबेला। उनीहरुलाई फूलबारीका फुल टिप्न, माला उन्न भ्याईनभ्याई छ। फूलको हेरचाहमै उनीहरूको दिन बित्ने गरेको छ। भर्खरै अर्को एक काम पनि थपिएको छ उनीहरूको। आम्दानीको हिसाबकिताब।
बगैँचामा हाँगा छोपेर ढकमक्क फुलेका सयपत्री र मखमली। थरीथरीका फूलको सुगन्ध परबाटै महसुस गर्न सकिने गरी ढकमक्क फुलेका फूललाई जतनका साथ हुर्काएका मालीको आम्दानी गर्ने मुख्य समय।
चारैतिर झिलीमिली देखिने यो फुलबारी दुई जना महिलाको बगैँचा यतिबेला जुम्री क्षेत्रको विशेष शोभा नै बनेका छन्। केही वर्ष अघिसम्म गाउँ–गाउँमा सयपत्री ढकमक्क फुलेका देखिन्छन्। केही वर्षयता सयपत्री फूल मासिन थालेको थियो। फूलको यतिसम्म अभाव हुन थाल्यो कि तिहारमा प्राकृतिक फूलको माला नपाएर प्लास्टिकको माला लगाउनु पर्ने बाध्यतासम्म प्युठानबासीलाई आइलाग्यो।
तर, यसपाली भने तिहार अगावै फुलहरु तयार भएका छन्। केही वर्ष यता प्युठानमा यस्को व्यवसायिक खेती हुँदै आएको छ। उनीहरुले पुष्प व्यवसायलाई सम्भावनाको पेशाको रुपमा चिनाएका छन्। कम लगानीमा धेरै आम्दानी हुने भएकाले व्यावसायिक रुपमा फुलखेती ब्यवसाय गरेको अधिकारीले बताइन्। ‘प्यूठानमा यो व्यवसायको सम्भावना राम्रो छ,’ उनले भनिन्।

भाडामा लिएको पाँच रोपनी जग्गामा अधिकारी र खत्रीले ४०–४५ थरिका फुलहरु उत्पादन गर्दै आएका छन्। घरको वरिपरि र बारीका कान्लामा फूल रोप्न जिल्ला बाहिरबाट बिरुवा किन्न बाध्य भएका उपभोक्ता जिल्लामै पुष्प नर्सरी स्थापना भएपछि खुसी भएका छन्।
फूलको बजार
राधा र रेखाले फुल खेती गर्न थालेको एक वर्ष मात्र भएको छ। प्यूठान नगरपालिकाको सहयोगमा काठमाडौं पुगेर तालिम लिएपछि सामूहिक रुपमा फुलखेती सुरु गरेको उनीहरुले बताए। फुलले बजार पाउँदा उनीहरु खुसी छन्।
‘गत वर्षबाट सामूहिक लगानीमा फुलखेती सुरु गरेका हौ,’ अधिकारीले भनिन्, ‘फुलको माग बढ्दै गएको छ।’ प्लास्टिकका मालाको प्रयोग विस्थापन गर्न प्यूठानमा पहिलो पटक यसरी फुलखेती गरेको खत्री सुनाउछिन्। उनीहरुको नर्सरीवाट उत्पादन भएको बेर्ना स्याउलीवाङ्ग, रजवारा, अर्खा, लगाएत स्थानीय बजार बिजुवार, जुम्री र बाग्दुलासमेत बिक्री हुने गरेको छ। नर्सरीमा २० रुपैयाँदेखि १५ सय रुपैयाँसम्मका फूलका बेर्नाहरु छन्।

नर्सरीका केही बेर्ना काठमाडौं, चितवनवाट ल्याएका हुन् भने केही फूलहरु स्थानीय उत्पादन हुन्। 'बगैँचाबाटै फुल बिक्री हुने गरेको छ। हातले उनेर तयार गरिएको प्रतिमाला फूल १ सय ५० रुपैयाँमा बिक्री हुने गरेको छ,' अधिकारीले भनिन्।
आम्दानीको बाटो
अहिले जिल्लाका ठुला सभासमारोह एवं सार्वजनिक कार्यक्रमहरुमा खादा भन्दा मालाको माग बढ्दो छ। ‘फुल खेतीबाट राम्रै आम्दानी भएको छ,’ रेखाले भनिन्, ‘गत वर्ष फुल तथा बेर्ना बेचेर १ लाख जति आम्दानी गर्यौं।’ फुल खेतीबाट ४० देखि ४५ हजारसम्म कमाई हुने उनीहरुले सुनाए।
फूल खेतीलाई विस्तार गर्न प्युठान नगरपालिकाले एक लाख २५ हजार र प्रदेश सरकारले ४ लाख रुपैयाँ अनुदान दिएको उनीहरुले बताए। गत वर्ष फुलको माग धान्ने नसकेपछि व्यव्साय विस्तार गरेर उनीहरुले फुल खेती गरिरहेका हुन्। चाडपर्वलाई लक्षित गरी फुल उत्पादन गर्न थालेको उनीहरुले बताए।
.JPG)
‘बार्षिक ४० हजार भाडा दिने गरी जग्गा लिजमा लिएका छौ,’ खत्रीले भनिन्। जिल्ला बाहिरबाट फूल आयात गर्नुभन्दा जिल्लाका व्यवसायीलाई प्रोत्साहन गर्नुपर्ने उनीहरुको भनाई छ। तिहारका लागि चाहिने मालाका लागि असारदेखि नै फुलको बिउ रोप्न थाल्नुपर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।