काठमाडौं– बजारमा पठाएको सिलिन्डरबाट ग्यास लिग भएको फेला पारेसँगै गुणस्तर तथा नापतौल विभागले दुई वटा ग्यासको बोटलिङमा प्रतिबन्ध लगाएको छ। साथै बजारमा पठाएको सिलिन्डरबाट ग्यास लिग भएको फेला पारेपछि नेपाल ग्याससँग भने विभागले स्पष्टीकरण सोधको छ।
विभागले बिहीबार पाँच वटा ग्यास उद्योगको अनुगमन गरी २ वटा ग्यास उद्योगको बोट्लिङमा प्रतिबन्ध लगाएको हो। विभागका उच्च स्रोतका अनुसार सिद्धार्थ र ओम ग्यासको बोटलिङमा प्रतिबन्ध लगाइएको छ। विभागले अनुगमनको क्रममा सिद्धार्थ र ओक ग्यासले बोटलिङको क्रममा प्रयोग गर्नुपर्ने प्रविधि प्रयोग नगरी भरिएका सिलिन्डर बजार पठाएको भन्दै प्रतिबन्ध लगाएको जनाएको छ।
‘सिद्धार्थ र ओम ग्यास उद्योगले लिग टेष्ट नगरी सिलिन्डर बजार पठाइरहेको थिए,’ स्रोतले भन्यो, ‘ फिल्डमा गई अनुगमन गर्दा यी ग्यास उद्योगले पूर्वाधार भए पनि प्रयोग नगरेको फेला परेको छ।’
यी २ वटा ग्यास उद्योगले सिलिन्डरको भल्ब र बडीको लिग टेष्ट नगरी बजार पठाएको फेला परेको विभागले जनाएको छ। साथै ओम ग्यासको भने बजारमा सिलिन्डरको बडीबाट ग्यास लिग भएको भन्दै विभागमा उजुरी समेत परेको स्रोतको दाबी छ।
उजुरीका आधारमा अनुगमनान गएको विभागको टोलीले सोही अनुसार काम भएको फेला परेको स्रोतले नेपाल लाइभलाई बतायो। बोटलिङ सम्बन्धी मापदन्डमा कुनै पनि ग्यास उद्योगले भल्ब र सिलिन्डरको बडीको लिग टेष्ट नगरी सिलिन्डर बजार पठाउन पाउँदैनन। तर, यी दुई वटा ग्यास उद्योगले भने उपभोक्ताको जीवनसँग खेलवाड गरेको निष्कर्ष निकाल्दै विभागले बोटलिङमा प्रतिबन्ध लगाएको स्रोतको भनाइ छ।
यसैगरी अनुगमनकै क्रममा मेट्रो र साइबाबा ग्यास उद्योगमा भने खराबी फेला नपरेको विभागको भनाइ छ। साथै एचपी ग्यास उद्योग भने अनुगमनको क्रममा सञ्चालनमा नरहेको फेला परेको विभागले जनाएको छ।
यसैगरी नेपाल ग्यासले बजारमा पठाएको सिलिन्डरको बडीबाट ग्यास लिग समेत फेला परेको विभागको भनाइ छ। विभागले तत्कालका लागि नेपाल ग्याससँग स्पष्टीकरण सोधेको र अनुगमनपछि आवश्यक कारबाही गरिने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।