काठमाडौं– घरको रेखदेख गर्नदेखि शोखका लागि पालिने कुकुरलाई वर्षमा एक पटक इमानदार र पहरेदार जनावरका रूपमा पूजा गर्ने चलन छ। सोही प्रचलनअनुसार आइतबार कुकुरको पूजा गरेर कुकुर तिहार मनाइँदैछ।
आम नागरिकले शोख र सुरक्षाका लागि पाल्ने कुकुरको भन्दा अपराध अनुसन्धानमा महत्वपूर्ण 'क्लु' दिने प्रहरीका कुकरको बारेमा नेपाल लाइभले सोधीखोजी गर्ने प्रयास गरेको छ।
प्रहरीमा कुकुर पाल्न थालिएको इतिहास खोतल्न ५० वर्ष पछाडि फर्किनुपर्ने हुन्छ। नेपाल प्रहरीले वि.सं २०२६ सालबाट कुकुर सेवाको सुरुवात गरेको थियो। त्यसबेला मलेसियामा भएको कुकुर तालिममा नेपाल प्रहरीले समेत भाग लिएको थियो। उक्त तालिममा कुकुरले प्रहरीलाई अनुसन्धानमा सहयोग गरेका धेरै कामहरू देखाइएको थियो।
प्रहरीले अनुसन्धान गर्न नसकेका धेरै जटिल कामहरू कुकुरको सहायताले फत्ते गरेका विवरणबारे जानकारी पाएपछि उक्त ट्रेनिङपश्चात् नेपाल प्रहरीले ४ वटा तालिमप्राप्त कुकुर किनेर कुकुर सेवा सुरु गरेको हो।
पछि नेपाल प्रहरीले २०३२ सालमा 'प्रहरी कुकुर सेक्सन' स्थापना नै गरेर औपचारिक रुपमा अनुसन्धानका लागि कुकुर पाल्न थालेको थियो। उक्त सेक्सनलाई विकास गर्दै प्रहरीले २०४७ सालमा 'केन्द्रीय कुकुर तालिम केन्द्र' बनाएको थियो। सात वटै प्रदेशमा गरेर प्रहरीसँग अहिले ७८ वटा विशेष तालिमप्राप्त कुकुर छन्।
नेपाल प्रहरीले कहिलेकाहीँ अनुसन्धानमा पोख्त अधिकारी र प्रविधिले हार खाएका कतिपय जटिल अपराधका गाँठा कुकुरकै सहायताले फुकाएको छ। सुरक्षामा कुकुरको सहयोग लिनु विश्वव्यापी परम्परा नै बनेको छ।
अपराध अनुसन्धानमा नेपाल प्रहरीसँग पोलिग्राफ मेसिन, डिजिटल फरेन्सिक ल्याब, डिएनए प्रोफाइलिङ युनिट, अटोमेटिक फिंगर प्रिन्ट आइडेन्टिफिकेसन सिस्टम, लागुऔषधको परीक्षण गर्ने हाइपर्फरमेन्स थिन लेयर क्रोम्याटोग्राफी (एचपिटिएलसी) जस्ता प्रविधि छन्। यीबोहक अनुसन्धानमा प्रहरीको अर्को भरपर्दो मानिने विधि हो, कुकुर।
चिनियाँ राष्ट्रपति सी चिनफिङको गत असोज २५ र २६ गतेको नेपाल भ्रमणको क्रममा नेपाल प्रहरीका तालिमप्राप्त कुकुरले समेत सुरक्षा दिएका थिए। सी चिनफिङको भ्रमणका बेला प्रहरीका 'एक्सप्लोसिभ' विधाका कुकुर ड्युटीमा खटाइएको थियो।
भिभिआइपी, भिआइपीको सुरक्षा र बम, बारूद, विस्फोटक पदार्थ पत्ता लगाउन यो विधिका कुकुर प्रहरीले प्रयोग गर्दै आएको छ। भिआइपी/भिभिआइपी जाने ठाउँ तथा सवारी हुने स्थानमा यो विधिका कुकुर पहिल्यै लगेर प्रहरीले स्न्याफिङ गराउँछ। त्यस्ता संवेदनशील ठाउँमा कुनै विस्फोटक पदार्थ राखेको भए कुकुरले संकेत गर्छ।
त्यस्तै गत जेठ २७ गते स्याङ्जाको भिरकोट नगरपालिका-१, बयरघारी बजारको सडक छेउमा एक ५५ वर्षीय राजेश अधिकारीको शव फेला पर्यो। काठको फर्निचर हाउस नजिकै शव रहेको जानकारी प्रहरीलाई प्राप्त भएको थियो।
त्यसपछि गण्डकी प्रदेश प्रहरी कार्यालय, कुकुर शाखाबाट ट्रयाकर डग 'जंगे'लाई लिएर डिएसपी नवीनकृष्ण भण्डारी घटनास्थल पुगे। शव हेर्दा ती व्यक्तिलाई राति हत्या गरेर पार्क नजिकै सुताएर राखेजस्तो देखिन्थयो। शव नजिकै गलबन्दी, चप्पल, काठको चिर्पट भेटिएका थिए। रगतले लतपतिएका ती वस्तुलाई 'सबुद प्रमाण' मानी प्रहरीले जंगेलाई सुँघाएको थियो।
सबुद प्रमाणमा भएको गन्ध सुँघेपछि कुकुर डाइमन्ड चोकस्थित लेखबहादुर सूर्यवंशीको घरमा पुगेको थियो। कुकुरकै संकेतअनुसार रुपन्देही घर भई स्याङ्जा डाइमन्ड चोक बस्दै आएका सूर्यवंशीलाई पक्राउ गरी अनुसन्धान गर्दा उनैले हत्या गरेको ठहर भएको थियो।
स्याङ्जाका राजेश अधिकारीको हत्या घटनामा अनुसन्धान गर्न प्रयोग गरिएको जंगे नामको कुकुर। तस्बिर स्रोत : नेपाल प्रहरी।प्रहरीका कुकुरको सहयोगमा यस्ता धेरै अपराधका घटनाको पटाक्षेप भइसकेका छन्। प्रहरीका कुकुरबाट पत्ता लागेका केही अपराधका घटनाहरु यस्ता छन्।
कुकुरले पत्ता लगाएका ठूला अपराधका घटना
२०४० सालमा दोलखाको चरिकोटमा एकै परिवारका ४ जनाको विभत्स हत्या भयो। हत्या कसले र किन गरायो भन्ने खुल्न सकेन। प्रहरीले डग स्कुल काठमाडौंबाट अनुसन्धानमा खटायो ‘नानी’ नामको कुकुरलाई। हत्यामा प्रयोग गरिएको खुकुरी बाँसको झाँङमा फालेको ‘नानी’ले पत्ता लगायो। त्यही खुकुरीको बिँड सुँघेर ‘नानी’ले हत्यारा पत्ता लगाएको थियो। हत्या गर्ने व्यक्ति थिइन्, शोभा श्रेष्ठ। उनले घरायसी विवादमा आफ्नै काका, काकीसहित ४ जनाको हत्या गरेकी थिइन्। हत्यापछि नुहाएर कोठमा सुतिरहेका बेला ‘नानी’कै सहयोगमा प्रहरीले उनलाई पक्राउ गरेको थियो।
बाराका पत्रकार वीरेन्द्र साह २०६४ कात्तिक १८ गते अज्ञात समूहद्वारा अपहरणमा परे। पत्रकार साह अपहरणमा परेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले उनको खोजी गरे। एक महिनासम्म खोजी गर्दा पनि साहको अवस्थामा पत्ता लागेन। एक महिनापछि साहको खोजी गर्न प्रहरीको केन्द्रीय डग तालिम केन्द्रबाट ‘ब्ल्याकी’ नामको कुुकर पठाइएको थियो। ब्ल्याकीले दुई दिनपछि कात्तिक २२ मा बाराको भैवानाकाको जंगलमा पत्रकार साहको शव गाडिएको स्थान पत्ता लगायो।
२०७४ जेठ ९ गते ललितपुरको गोदावरी नगरपालिका–११ बस्ने ४० वर्षका दीपक दमाईको हत्या भयो। उनको शव छम्पी र चापागाउँबीचको खोल्सामा फालिएको थियो। अनुसन्धान गर्न जर्मन सेफर्ड जातको ‘लिजा’ कुकुर परिचालन गरियो। घटनास्थलमा प्राप्त भएको निलो रंगको सर्ट लिजालाई सुँघाइयो। लिजाकै इसाराअनुसार प्रहरीले सिन्धुपाल्चोक घर भई चापागाउँ खटिएका म्यादी प्रहरी कुमार पाख्रिनलाई पक्राउ गरेको थियो। पक्राउ परेका पाख्रिन आफैंले हत्या गरेको स्वीकार गरे।
२०५३ फागुन १८ गते बुढानीलकण्ठमा ६० वर्षीया वृद्धाको हत्यारा पनि कुकुरले नै पत्ता लगाएको थियो। देवरका छोरा र ज्वाइँले वृद्धाको घाँटी थिचेर हत्या गरेको कुकुरकै सहयोगमा प्रहरीले पत्ता लगाई पक्राउ गरेको थियो।
३५ वर्षका देवराज न्यौपानेको २०६२ बैसाख २६ गते सुनसरीको धरान नगरपालिकास्थित पञ्चकन्या मन्दिरमा रहस्यमय तरिकाले हत्या भएको थियो। उनको गर्धनमा खुकुरी प्रहार गरी हत्या भएको थियो। अनुसन्धानमा खटिएको ‘आकाश’ नामको कुकुरले शर्मिला लिम्बूलाई संकेत गरेपछि डग ह्यान्डलरले उनलाई हत्कडी लगाए। पछि हत्यारा शर्मिला नै भएको पुष्टि भयो।
काठमाडौं मातातीर्थका विशाल तामाङ घरमा सुतिरहेका थिए। प्रहरीको ‘रोनी’ नामको कुकुरले सुतिरहेका विशालको देब्रे हातमा टोक्यो। हत्यामा संलग्न भन्दै प्रहरीले तामाङलाई पक्राउ गर्यो। सानुकाजीको हत्या भएको ठाउँमा प्रमाणको रूपमा हँसिया फेला परेको थियो। प्रहरीले हँसियाको बिँड रोनीलाई सुँघाए। बिँडमा विशालको गन्ध पाएपछि कुकुरले उनलाई टोकेको थियो। अनुसन्धानबाट मातातीर्थकै ६० वर्षे सानुकाजी तामाङको हत्यारा विशाल नै भएको पुष्टि भयो। यो २०७० पुस २३ गतेको घटना थियो।
२०७१ साल असोज १४ गते राति लमजुङको पिप्ले–४, भोटे ओडारमा अर्जुनप्रसाद रेग्मीसहित ३ जनाको हत्या भयो। पश्चिम क्षेत्रीय प्रहरी कार्यालय, पोखराबाट घटनाको अनुसन्धान गर्न ‘ज्वाला’ नामको कुकुर पठाइयो। घटनास्थलमा प्राप्त भएको हँसिया ज्वालाले सुँघेर हत्यारा अर्जुनका छोरा राममणि भएको पत्ता लगाएको थियो।
बर्दियाको साविकको ठाकुरद्वारा गाविस-४, सुस्ताका ६८ वर्षीय जोरा सिंह थापाको ५ फागुन २०७२ मा हत्या भयो। घटनाको अनुसन्धान गर्न बाँकेबाट जर्मन सेफर्ड जातको ‘भुन्टी’ कुुकुर परिचालन गरियो। घटनास्थलमा भेटिएका कपडाको गन्ध भुन्टीले सुँघ्यो। भुन्टीले घटनास्थलबाट १५ सय मिटर अगाडि खोलाको बाटो हुँदै अपराधी भागेको संकेत गर्यो। भुन्टीकै संकेतअनुसार खोजी गर्दा ठाकुरद्वारा-४ का २३ वर्षे अजित बुढा पक्राउ परे। पछि उनी दोषी ठहर भए। तर, बुढाले भने भुन्टीले संकेत गरेअनुसार नै आफू भागेको स्वीकार गरेका थिए।
नेपाल प्रहरीले कुकुरको सहायताले अन्य धेरै कामहरू गरेको छ। ठमेल र बसपार्क क्षेत्रबाट कुकुरकै सहायताले प्रहरीले ठूलो मात्रामा लागुऔषध बरामद गरेको छ। प्रहरीको कुकुरले २०६९ मंसिर २७ गते लागुऔषधका मुख्य नाइके भारतीय नागरिक पुतन खानसहित दुई जनालाई पक्रन सफल भएको थियो।
अपराधमा संलग्न भएका व्यक्तिलाई कुकुरले पहिचान गर्नेबारे देखाइएको डेमोस्ट्रेसन। तस्बिर : नेपाल प्रहरी।रसुवाको ब्राप्चेको पहिरोमा २०७० माघ १० गते सिभिल इन्जिनियर चेरव घिमिरे पुरिएर बेपत्ता भएका थिए। ‘रेस्क्यु’ र ‘खुस्बु’ नामक दुई कुकुरको सहयोगमा घिमिरेको शव फेला पारिएको थियो। भूकम्प गएका बेला मानिस पुरिएको आशंका भएका काठमाडौंका धेरै ठाउँमा कुकुर प्रयोग गरी उद्धारको काम गरिएको थियो।
यी बाहेक भिभिआइपी, भिआइपी सुरक्षाका लागि नेपालमा प्रहरीका कुकुर खटिँदै आएका छन्। भिआइपीहरूको आवतजावत हुने ठाउँमा कुकरले विस्फोटक पदार्थ छ कि छैन भनेर पहिचान गर्ने गरेको डग स्कुलले जनाएको छ। २०७० सालमा पूर्व-अमेरिकी राष्ट्रपति जिम्मी कार्टर नेपाल आउँदा, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण गरेका बेला ‘लियो’, ‘मारियो’ र ‘एक्सी’ कुकुरलाई विस्फोटक पदार्थको खोजी गर्न लगाइएको थियो।
२०७१ साल मंसिर १८ गते ‘जुलेट’ नामक कुकुरले चितवनको भरतपुर-५ स्थित सिमलको रूखमुनि लुकाएको अवस्थामा एउटा कटुवा पेस्तोल, एसएलआरको गोली एक थान र गन पाउडर फेला पारेको थियो।
प्रहरीसँग चार विधाका ७८ तालिमप्राप्त कुकुर
संसारमा पाइने १ सय ८९ प्रजातिका कुकुरमध्ये केही प्रजातिलाई मात्रै अपराध अनुसन्धानमा प्रयोग गरिँदै आएको छ। तीमध्ये नेपाल प्रहरीसँग जर्मन सेफर्ड, ल्याब्रोडर, ककर स्प्यानियल, गोल्डेन रिट्रिभर, बिगल, बेल्जियम मेनोलोइज, ब्लड हान्ड र डच सेफर्ड गरी आठ प्रजातिका ७८ वटा कुकुर रहेको डग स्कुलकी एसएसपी देउती गुरुङले बताइन्।
यी कुकुरलाई प्रहरीले ट्रयाकर डग, एक्सप्लोसिभ डग, सर्च एन्ड रेस्क्यू डग, ड्रक्स सर्च डग गरी चार विधामा वर्गीकरण गरी अनुसन्धानमा लगाउने गरेको छ।
तीन महिनाको आधारभूत तालिम दिएपछि कुकुरको क्षमताअनुसार विधा छुट्याएर अनुसन्धानमा लगाउने गरिन्छ।
ट्रयाकर डगलाई हत्या, अपहरण, बलात्कारजस्ता घटनाको अनुसन्धानका लागि प्रयोग गरिन्छ। भिआइपी, भिभिआइपीको सुरक्षा र बम, बारूद, विस्फोटक पदार्थ पत्ता लगाउन एक्सप्लोसिभ डगको प्रयोग गरिन्छ।
बाढी, पहिरो, भूकम्पलगायतका प्राकृतिक विपद्मा परेर हराएकाको खोजी गर्न सर्च एन्ड रेस्क्यू डगको प्रयोग गरिन्छ भने ड्रक्स सर्च डग विधाका कुकुर लागुऔषधसम्बन्धी अनुसन्धान गर्न खटाइन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।