काठमाडौं- अष्ट्रेलिया र स्पेनका लागि नवनियुक्त राजदूतले आफूले देशको पर्यटन तथा लगानीका क्षेत्रमा सम्बन्धित देशमा पहल गर्ने बताएका छन्। दुई मुलुकबीच आर्थिक सम्बन्ध मजबुत बनाउन आफू लागि पर्ने दुवै राजदूतहरुको भनाइ छ।
स्पेनका लागि दावाफुटी शेर्पा तथा अष्ट्रेलियाका लागि महेश दाहाल राजदूत नियुक्ति भएका हुन्। राजदूत शेर्पाले निजी क्षेत्रको सुझावअनुसार आफूले नेपाली उत्पादन, लगानीका अवसरहरु तथा पर्यटन प्रवर्द्धनमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाइन्।
त्यस्तै, अष्ट्रेलियाका लागि नियुक्त भएका राजदूत महेश दाहालले नेपालमा उत्पादित वस्तुको बजार विस्तार गर्नु आफ्नो प्राथमिकतामा रहेको बताए। द्धिपक्षीय सम्बन्ध विस्तार गर्न आफूले कार्ययोजना बनाई सहजीकरण गर्ने उल्लेख गरे। उनले नेपाल निर्मित गरगहनाको निकासी बढाउन, नेपालमा लगानी अभिवृद्धि गर्न, द्धिपक्षीय वाणिज्य सम्बन्ध वृद्धि गर्न, द्धिपक्षीय भ्रमणको आदानप्रदान गर्न आफूले जोड दिने दावी गरे।
‘न्युजिल्यान्डमा ‘एभरेस्ट डे’ मनाई सगरमाथा चढ्नेहरुको शिखर सम्मेलन गरी पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य छ,’ उनले भने।
सो कार्यक्रममा चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालमा जलविद्युत, पर्यटनलगायतका क्षेत्रमा स्पेनी लगानी एवं प्रविधि भित्र्याउन कूटनीतिक पहल हुनुपर्नेमा जोड दिए। श्रेष्ठले औद्योगिक/व्यापारिक प्रतिनिधिमण्डलको आदानप्रदान, पर्यटन मेला, एफडिआई आकर्षण, स्पेनका लगानीकर्तासँग नेपालका लगानीकर्ताबीच भेट, लगानी सम्भावनासम्बन्धी सूचना आदानप्रदान गर्न राजदूले पहल गरे देश विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।
पछिल्लो तथ्यांकअनुसार सन् २०१८ मा स्पेनसँग ५४ लाख ८६ हजार ८ सय ४९ अमेरिकी डलर बराबर व्यापार घाटा रहेको छ। जसमा नेपालमा स्पेनबाट सन् २०१८ मा ८२ लाख ७० हजार ५ डलर बराबर आयात भएको छ भने नेपालबाट स्पेनमा २७ लाख ८३ हजार १ सय ५६ अमेरिकी डलर बराबर निर्यात भएको छ।
नेपालले स्पेनतर्फ विशेष गरी तयारी पोसाक, गलैंचा, हस्तकलाका सामग्रीहरु निर्यात गर्दैै आएको र स्पेनबाट मेसिनरी पार्टपूर्जाहरु, मेडिकल उपकरणहरु तथा पेय पदार्थ आयात हुँदै आएको छ।
त्यस्तै, सन् २०१८ मा अष्ट्रेलियासँग १ करोड १९ लाख ४३ हजार ३ सय ६३ डलर बराबर व्यापार घाटा रहेको छ। जसमा नेपालमा अष्ट्रेलियाबाट २०१८ मा ७ करोड २१ लख १४ हजार ४०६ डलर बराबर आयात भएकोमा सोही वर्ष नेपालबाट अष्ट्रेलियामा ६० लाख २१ हजार ७५ डलर बराबर निर्यात भएको छ।
सहभागीहरुले स्पेनबाट सहकारीको व्यवस्थापन, प्रविधि, पर्यटन प्रवर्द्धनमा जोड दिनुपर्ने बताए। अष्ट्रेलियासँग सामुदायिक वन विकास, कृषि विकास, ‘नेपाल डे’, नेपाली रत्न तथा गरगहना निर्यात गर्दा ड्युटी ड्रब्याकको सुविधा उपलब्ध गराउनुपर्नेमा जोड दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।