काठमाडौं- बहुमूल्य धातुको परिभाषा प्रष्ट नहुँदा आन्तरिक राजस्व विभागले यससँग सम्बन्धित बजार नियमन र सम्पत्ति शुद्धीकरणसँग सम्बन्धी गतिविधिको नियन्त्रणका लागि निर्देशन बनाउन सकेको छैन।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहत लैजानु अघि नै बहुमूल्य धातुको बजार नियमनको जिम्मेवारी आन्तरिक राजस्व विभागलाई दिइएको थियो। आन्तरिक राजस्व विभागले बजार नियमन र सम्पत्ति शुद्धीकरण निवारणका लागि निर्देशिकाको तयारी गरेपनि सम्पत्ति शुद्धीकरण निवारण ऐन र नियमावलीमा त्यस्ता धातुको परिभाषा प्रष्ट नहुँदा काम रोकिएको हो।
‘हामीले निर्देशिकाको तयारी गरिरहेका छौँ, तर पहिले कानुनमा बहुमूल्य धातु भनेको केहो भन्ने कुरा सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी ऐन र नियमावलीमा प्रष्ट भयो भने मात्रै निर्देशिका जारी गर्न सक्छौँ,’ आन्तरिक राजस्व विभागका निर्देशक ऋषिराम पोखरेलले भने, ‘पहिले सम्पत्ति शुद्धीकरण नियमावली संशोधन भएपछि मात्रै निर्देशिका बनाउछौँ।’
सम्पत्ति शुद्धीकरण निवारण ऐनको दफा ‘७ क’ मा बहुमूल्य धातु तथा वस्तुको कारोबार गर्ने व्यवसायीले १ दिनमा १० लाख रूपैयाँ वा सोभन्दा कम रकमको कारोबार गर्ने ग्राहकको पहिचान गर्नुपर्ने उल्लेख छ।
चलनचल्तीको भाषामा सुन, हिरालगायतका धातुलाई बहुमूल्य धातु भनिए पनि कानुनमा प्रष्ट परिभाषा दिइएको छैन। कानुनमा परिभाषा प्रष्ट नभएका कारण निर्देशिका नै तयारी गर्न नसकिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।