हैदराबाद (एजेन्सी)- दक्षिण भारतको सुपर डुपर हिट फिल्म 'बाहुबली'को माहिष्मती साम्राज्यको भव्य सेट पर्यटकहरुका लागि खुला गरिएको छ । यो विशाल सेट हेर्न सर्वसाधारण ठूलो संख्यामा पुगिरहेका छन्।
'बाहुबली' को दुवै भाग निकै सफल भएको थियो र दर्शकले खूब रुचाएका थिए । कथा, अभिनय, संवाद र स्पेशल इफेक्ट्सका साथै भव्य सेट पनि फिल्मको खास विशेषता थियो । सेट हैदराबादको रामोजी फिल्म सिटीमा बनाइएको छ, जसको निर्माण कडा मिहिनेत र करोडौं खर्चमा गरिएको थियो।
बाहुबलीको सेट ३५ करोड भारु खर्चेर ५० दिनमा बनाइएको थियो । सेट बनाउन ५ सय कामदार दिनरात खटिएका थिए । सेटको भव्यता र आकर्षण कस्तो छ भने, भारतीयहरु दिवालीको छुट्टी त्यहाँको अवलोकन गरेर बिताइरहेका छन् । सेट हेर्न दैनिक १० देखि १५ हजार पर्यटक पुग्ने गरेको बताइएको छ।

'बाहुबली द बिगिनिङ' को सेट २८ करोड रुपैयाँमा तयार गरिएको थियो । फिल्माले पाएको सफलतापछि निर्देशक एसएस राजामौलीले त्यही सेटलाई पुनर्निर्माण गरेर फरक स्वरुप दिएका थिए । 'बाहुबली: द कन्क्लुजन' को सुटिङ सुरु गर्नुअघि सेटलाई नयाँ स्वरुप दिन थप ७ करोड रुपैयाँ खर्च गरिएको थियो । अर्थात् माहिष्मती साम्राज्यलाई पर्दामा जीवन्त बनाउन सेटमै जम्मा ३५ करोड खर्च गरिएको थियो।
निर्माणपछि सेट कस्तो बन्यो, त्यसको भव्यता सबैले फिल्ममा देख्न पाए । माहिष्मतीको साम्राज्य फिल्ममा हेरेका दर्शकले अब यसको प्रत्यक्ष झलक नियाल्ने मौका पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।