बुटवल- बुधबार बिहान प्रहरी इन्काउन्टरमा मारिएका मनोज पुन र उनका सहयोगी सोम आलेलाई २२ राउन्ड गोली लागेको छ।
सहयोगीसहित मनोज रुपन्देही छिरेको सूचना पाएपछि उनीहरुको तीव्र खोजीमा लागेको प्रहरीलाई गोली हानेपछि जवाफी फायरिङ गर्दा २२ राउण्ड गोली लागेको प्रहरीले जनाएको छ।
रुपन्देहीको देवदह ४ भवानीपुर कोलिया राज्य नजिकै भएको घटनामा प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका पुनको शरीरमा १२ राउण्ड गोली लागेको छ भने उनका सहयोगी तथा सार्प सुटर सोम आलेलाई १० राउण्ड गोली लागेको छ। भवानीपुरमा गोली लागि घाइते भएका उनीहरुलाई उपचारका लागि लुम्बिनी अञ्चल अस्पतालमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको रुपन्देहीका प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीले जानकारी दिए।
प्रहरीले तयार पारेको मुचुल्का अनुसार पुनको छोती र पेटमा गरी ९, तिघ्रामा २, पाखुरामा एउटा गोली लागेको छ भने आलेको छातीमा ५, पेटको बायाँ भागमा १, ढाडमा १, साप्रोमा १ र बायाँ कोखमा २ वटा गोली लागेको छ।
उनीहरुको शव पोस्टमार्टमका लागि लुम्बिनी अञ्चल अस्पतालमा राखिएको छ। उनीहरुको शव बुझ्नका लागि अहिलेसम्म कोहि पनि अस्पताल पुगेका छैनन्।
गत वर्ष पुनले देवदहमा युवा संघका नेता दुर्गा तिवारीको हत्या गरेका थिए भने गत असोजमा काठमाडौंमा निर्माण व्यवसायी शरदकुमार गौचनको हत्यामा पनि उनको संलग्नता रहेको प्रहरीले जनाएको छ। गत पुस २२ गते उनले देवदहमा बसन्त पौडेलको उनैले हत्या गराएका थिए।






नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।