काठमाडौ- मोस्ट वान्टेड गुन्डा नाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिएका छन्। बुधबार बिहान रुपन्देहीको देवदहमा प्रहरीको गोलीबाट उनी मारिएका हुन्।
पक्राउ गर्न खोज्ने क्रममा भाग्न खोजेपछि जवाफी कारबाहीमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। पुनका प्रमुख सहयोगी सोम आले पनि सोही घटनामा मारिएका छन्।
प्रहरीलाई नै आक्रमण गरेर भाग्न खोजेपछि गोली चलाइएको रुपन्देहीका एसपी श्याम ज्ञवालीले बताए। रुपन्देहीको देवहद नगरपालिका ४ भवानीपुरमा प्रहरीसँग जम्काभेट हुँदा आक्रमण गरी उनीहरु भाग्न खोजेका थिए। एसपी ज्ञवालीले भने, 'घटनास्थलमा घाइते भएका उनलाई उपचारका लागि लुम्बिनी अञ्चल अस्पतालमा लगिएको थियो, त्यहीँ मृत्यु भयो।'
पुन विगत ३ वर्षदेखि मोस्ट वान्टेड दिए।
गतवर्ष उनले देवदहमा युवा संघका नेता दुर्गा तिवारीको हत्या गरेका थिए। गत असोजमा काठमाडौंमा निर्माण व्यवसायी शरदकुमार गौचनको हत्यामा पनि उनको संलग्नता रहेको प्रहरीले जनाएको छ।
गत पुस २२ गते उनले देवदहमा बसन्त पौडेलको हत्या गराएका थिए। व्यापारीहरुको हत्या गर्ने र फिरौती असुल्ने धन्दा उनले चलाउँदै आएका थिए। आतंकका पर्याय बन्दै आएका पुनलाई पक्राउ गर्न एक वर्ष पहिलेदेखि प्रहरी टोली सक्रिय थियो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले विशेष टिम बनाएर पुनको समूहलाई खोजी गर्दै आएको थियो। इन्काउन्टर सिआइबीको नेतृत्वमा भएको स्रोत बताउँछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।