काठमाडौ- 'मोस्ट वान्टेड' गुन्डा नाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिएका छन्।
बुधबार बिहान रुपन्देहीको देवदहमा प्रहरीको गोलीबाट उनी मारिएका हुन्। पक्राउ गर्न खोज्दा भाग्ने क्रममा प्रहरीको जवाफी कारबाहीमा उनको मृत्यु भएको हो। पुनका प्रमुख सहयोगी सोम आले पनि सोही घटनामा मारिएका छन्।
प्रहरीलाई नै आक्रमण गरेर भाग्न खोजेपछि गोली चलाइएको रुपन्देहीका एसपी श्याम ज्ञवालीले बताए। 'रुपन्देहीको देवहद नगरपालिका ४ भवानीपुरमा जम्काभेट हुँदा आक्रमण गरी भाग्न खोजे,' एसपी ज्ञवालीले भने, 'घटनास्थलमा घाइते भएका उनलाई उपचारका लागि लुम्बिनी अञ्चल अस्पतालमा लगिएकोमा त्यहीँ मृत्यु भयो।'
पुन ३ वर्षदेखि प्रहरीको खोजी सूचीमा थिए।
गत वर्ष उनले देवदहमा युवा संघका नेता दुर्गा तिवारीको हत्या गरेका थिए। गत असोजमा काठमाडौंमा निर्माण व्यवसायी शरदकुमार गौचनको हत्यामा पनि उनको संलग्नता रहेको प्रहरीले जनाएको छ। गत पुस २२ गते उनले देवदहमा बसन्त पौडेलको उनैले हत्या गराएका थिए।
व्यापारीहरुको हत्या गर्ने र फिरौती असुल्ने धन्दा चलाउँदै आएका उनी आतंकको पर्याय बन्दै आएका थिए। पुनलाई पक्राउ गर्न एक वर्ष पहिलेदेखि प्रहरी टोली सक्रिय थियो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले विशेष टिम बनाएर पुनको समूहलाई खोजी गर्दै आएको थियो। इन्काउन्टर सिआइबीकै नेतृत्वमा भएको स्रोत बताउँछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।