काठमाडौं- नेपाली कांग्रेसका सांसद तथा पूर्व राज्यमन्त्री देवेन्द्रराज कँडेलले आफू भारतीय नागरिकतावाहक नभएको स्पष्टीकरण दिएका छन्।
बुधबार पत्रकार सम्मेलन गरेर कँडेलले दोहोरो नागरिकता भएको पुष्टि भए जुनसुकै कारबाही भोग्न समेत तयार रहेको बताए। नेपालको सिमानामा रहेको इन्टर कलेजको सपथ लिने क्रममा राखिएको ठेगाना भारतीय साथीको घरको भएको दाबी गरे। उनले भने, ‘गोरखपुर जादा कसाया रोडमा रहेका साथीको घरमा बस्ने गर्छु। उनैको ठेगाना सपथमा राखेको हुँ।’
अध्ययन लागि भारतमा रहेको समयमा प्रमाणपत्रको आधारमा सवारी चालक अनुमति पत्र लिएको प्रष्टाए। विद्यालय व्यवस्थापन समितिको चयनका क्रममा १२ जना मतदाता रहेको उल्लेख गर्दै उनले भने,‘निर्वाचन समितिले प्रकाशित गरेको ठेगानामा मेरो नेपालकै ठेगाना नवलपरासी राखिएको छ।’
इलाहावाद अदालतमा नेपालको सांसद र पूर्वमन्त्री भन्दै आफ्नो विरुद्धमा उजुरी समेत परेको बताए। भारतमा नेपाली व्यक्तिले संस्था चलाउन नपाउने भन्दै आफूविरुद्ध मुद्दा दायर भएको उनको भनाइ छ।
दायर मुद्दाको प्रतिवाद गर्दै उनले अदालतलाई प्रमाण बुझाएको बारे भने,‘सन् १९५० को सम्झौताको आधारमा नेपालीले पनि भारतमा सामाजिक संस्था चलाउने अधिकार छ।’
कँडेलले भारतीय सीमामा रहेको विद्यालयको व्यवस्थापन आफ्नै परिवारले इतिहासदेखि गर्दै आएको बताए।
शिक्षाबाट बञ्चित भएका नेपालीलाई राणा कालमै हजुरआमा राधाकुमारीले विद्यालय सञ्चालन गरेको इतिहास सम्झाए।
हजुर आमा राधा कुमारीको नाममा रहेको विद्यालयको नाम परिवर्तन गरि हाल इन्टर कलेज बनाइको प्रष्टाए।
कँडेल परिवारकै मातहतमा रहेको उक्त विद्यालय सन् १९५० मा स्थापना भएको उनले बताए। स्थापनाको दुई वर्षपछि अर्थात् १९५२ जनवरी ३१ भारतीय सरकारले सञ्चालन स्वीकृति दिएको उनले बताए।
सीमा क्षेत्रमा रहेर 'नेपाली हुँ' भन्दै लडिरहेको व्यक्तिलाई दोहोरो नागरिकताबाहकले मिथ्या आरोप लगाएको उनको दुखेसो छ।
उनलाई आरोप लगाउने दोहोरो नागरिकधारीको नाम भने उनले खुलाएनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।