फाइल तस्बिर
काठमाडौं- उपनिर्वाचन सत्ता र प्रमुख प्रतिपक्षले आम जनतालाई गरेको विश्वासघातमाथिको ‘जनमत संग्रह’ भएको ठहर गरेको छ।
पोखरामा बसेको मंगलबार र बुधबारको केन्द्रीय समितिका निर्णय सार्वजनिक गर्दै पार्टी प्रवक्ता डा सूर्यराज आचार्यले निकालेको विज्ञप्तिमा ‘हरेक चुनाव क्षेत्रका मतदातामा सम्पूर्ण नेपाली जनताको भावनालाई प्रतिनिधित्व गर्दै मतदान गर्नु पर्ने गहन जिम्मेवारी थपिएको’ उल्लेख गरिएको छ।
विद्यमान परिस्थिति निर्माण हुनुमा सत्ता पक्ष नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्ष दल कांग्रेसलाई उतिकै जिम्मेवार रहेको साझाको निष्कर्ष छ। ‘भ्रष्टाचार शिखरमा छ। शिक्षा र स्वास्थ्यमा नाफाखोर व्यापार छ। क्षमतावान् र ऊर्जाशील युवा देश छोड्न बाध्य छन्। विज्ञप्तिमा भनिएको छ,‘नागरिक स्वतन्त्रतालाई अङ्कुश लगाउने गरी सरकार अनुदार लोकतन्त्रतर्फ उन्मुख देखिंदैछ।’
नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षीय भुमिकालाई जिम्मेवार ढंगले निर्वाह गर्न नसकेको आरोप लगाइएको छ। जनभावनालाई प्रखररूपमा मुखरित गर्ने भूमिकामा रहेको प्रतिपक्ष अकर्मण्य र उदासीन भएको साझाको ठहर छ। सत्तासीन र प्रतिपक्ष दलले जनताको अपेक्षामा गंभिर तुषारापात गरेको विज्ञप्तीमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।