काठमाडौं- त्रिभुवन विश्वविद्यालय व्यवस्थापनले आफैले तय गरेको सिद्धान्तविपरीत जनप्रशासन विभागमा निमित्त प्रमुख नियुक्त गरेको आरोप लगाउँदै आन्दोलनमा उत्रिएका विद्यार्थीहरूले त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रारको कार्यालयमा तालाबन्दी गरेका छन्।
त्रिवि पदाधिकारी बैठकले रिक्त भएका विभाग र क्याम्पसमा निमित्त प्रमुखका रुपमा कार्यरतलाई नै निरन्तरता दिने सिद्धान्त पारित गरे पनि जनप्रशासन केन्द्रीय विभागमा मात्र अनुचित ढंगले जुनियरलाई प्रमुख बनाएकाले आन्दोलतमा उत्रनु परेको विद्यार्थी नेताहरुले जनाएका छन्।
सोमबार नियुक्तिको विरुद्ध विभागमा तालाबन्दी गरेका विद्यार्थीहरुले माग सुनुवाई नभको भन्दै बुधबार रजिष्ट्रार कार्यालयमै ताला लगाएका हुन्। पदाधिकारीहरुले अनुचित ढंगले विभागको विभागीय प्रमुख नियुक्त गरेको भन्दै स्वतन्त्र विद्यार्थी युनियन र नेपाल विद्यार्थी संघले आन्दोलन थालेका हुन्।
प्राध्यापकलाई नै विभागीय प्रमुख बनाउने विगतको प्रचलन तोडेर उपप्राध्यापकलाई निमित्त प्रमुख बनाइएको भन्दै आन्दोलित नेविसंघ जनप्रशासन क्याम्पस इकाई अध्यक्ष सुदीप श्रेष्ठले अझै माग सुनुवाई नभए उपकुलपति कार्यालयमा समेत तालाबन्दी गरिने चेतावनी दिए।
वरिष्ठतम प्राध्यापकलाई विभागीय प्रमुख नियुक्त गर्नुपर्ने, एउटै व्यक्ति दुई संस्थाको प्रमुख राख्न नहुने र विभागमा आवश्यक कर्मचारीको दरबन्दी उपलब्ध गराउनुपर्ने माग पुरा नभएसम्म आन्दोलन जारी रहने श्रेष्ठको चेतावनी छ। विद्यार्थीको आन्दोलनमा जनप्रशासनका वरिष्ठ प्राध्यापक तथा शिक्षकहरुको समेत सहयोग रहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।