नयाँ दिल्ली (एजेन्सी)– बलिउडका स्टारहरु 'रिल लाइफ'मा जति रोमान्स गर्छन्, 'रियल लाइफ'मा पनि प्रेममा उत्तिकै मग्न हुने गर्छन्। तर, उनीहरुमध्ये कतिपयको निजी जीवनमा फिल्ममा झैं वियोगले गहिरो घाउ पार्ने गर्छ।
यहाँ बलिउडका केही त्यस्ता जोडीहरुको चर्चा गरिँदै छ, जो कुनै समय एक-अर्काको प्रेममा पागल थिए। तर, परिस्थितिवश उनीहरुको सम्बन्ध टुट्न पुग्यो र उनीहरु अहिले एक-अर्काको अनुहार हेर्न र दोहोरो बोलचाल गर्न समेत चाहँदैनन्।
रणवीर कपुर र कैटरिना कैफ
कुनै समय रणवीर कपुर र कैटरिना कैफबीचको प्रेम र रोमान्स बलिउडमा हटकेक थियो। यो जोडी कतिसम्म नजिक थियो भने, उनीहरु लिभिङ टुगेदरमा बस्न थालेका थिए। तर, उनीहरुको सम्बन्ध लामो समय टिक्न सकेन। त्यसपछि उनीहरु एक-अर्कालाई देखेर तर्किने अवस्थामा पुगे।
रणवीर र कैटरिनाले ब्रेकअपपछि अभिनय गरेको फिल्म 'जग्गा जासुस'मा एकसाथ काम गरेका थिए। तर, फिल्मको सुटिङमा जाँदा उनीहरु फरक-फरक होटलमा बसेका थिए।
सलमान खान र ऐश्वर्य राय
बलिउडका दबंग स्टार सलमान खान र ऐश्वर्या रायबीचको प्रेम सम्बन्ध निकै लोभलाग्दो मानिन्थ्यो। उनीहरुको प्रेम यति प्रगाढ थियो, ऐश्वर्याले आफ्नो परिवार त्यागेर सलमानलाई अँगाल्न पुगेकी थिइन्। तर, समयलाई यो जोडीको सम्बन्ध मञ्जुर भएन।
ब्रेकअपपछि यी दुईले अहिलेसम्म पनि एक-अर्काबीच कुराकानी गरेका छैनन्। सम्बन्ध टुटेपछि ऐश्वर्याले आफ्नो जीवन अगाडि बढाउँदै अभिषेक बच्चनसँग विवाह गरिसकिन् भने सलमान अझै अविवाहित नै छन्।
रणवीर सिंह र अनुष्का शर्मा
बलिउडको अर्को चर्चित जोडी हो, रणवीर सिंह र अनुष्का शर्माको। पछिल्लो समय रणवीर दीपिका पादुकोणसँगको प्रेममा छन् भने अनुष्काले क्रिकेटर विराट कोहलीसँगको प्रेमलाई विवाहमा परिणत गरिसकिन्।
रणवीर र अनुष्काबीच 'ब्यान्ड बाजा बारात' फिल्ममा काम गर्दा आत्मीय सम्बन्ध गाँसिएको थियो। उनीहरुले लामो समय डेटिङ समेत गरे। तर, पछि दुईबीच मन मिल्न सकेन र सहयात्राबाट फरक बाटोमा लागे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।