लहान- सिरहाको धनगढीमाई नगरपालिका–१० श्यामपुरस्थित आँप बगैँचामा एक व्यक्ति मृत फेला परेका छन्।
लहान नगरपालिका–२४ डाँडाटोल बस्ने ३२ वर्षका जोगी सदायको मृत शरीर सागर मगरको आँप बगैँचामा भेटिएको हो। शव सोमवार बिहान फेला परेको थियो।
प्रहरीले जोगीको हत्या भएको हुन सक्ने आशंका गरेको छ। घाँटीमा निलडाम देखिएकाले कर्तव्य गरी हत्या गरेर शव बगैँचामा फालिएको हुन सक्ने प्रहरीको अनुमान छ। मृतकका साला राजकपुर सदायले सनाखत गरेपछि शवलाई पोस्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल पठाइएको जानकारी दिए।
‘हामी अनुसन्धान गर्दैछौं,' इलाका प्रहरी कार्यालय लहानका डिएसपी गणेश चन्दले भने, 'पोस्टमार्टम रिपोर्ट आएपछि घटनाको कारण खुल्छ।’
मृतक जोगी स्थानीय खुट्टी खोलामा गिट्टी बालुवाको काम गरेर परिवारको जीविका चलाउँदै आएका थिए। ठेकेरदारसँग विवाद भएपछि डेढ महिना अघिदेखि उनको परिवार घरबाहिरै बस्दै आएको स्थानीयले जानकारी दिएका छन्। १० हजार रुपैयाँ पेस्की लिएको विषयमा ठेकेदारसँग उनको विवाद भएको जनाइएको छ। जोगीका गर्भवती श्रीमती र ४ छोराछोरी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।