मुम्बई (एजेन्सी)–बलिउड स्टार रणवीर सिंहको यतिबेला पुरै ‘इन्डस्ट्री’ फ्यान बनेको छ। पद्मावतमा खिलजीको भुमिका निर्वाह गर्ने रणवीरले फिल्ममा प्रवेश पाउन निकै मिहिनेत गर्नु पर्यो। हालै एउटा कार्यक्रममा उनले सुरुवाती दिनमा गरेको मिहिनेतको कहानी सुनाए। जसमा रणवीरले भने, ‘काम पाउन मैले धेरै पल्ट रेस्टुराँ र नाइट क्लबमा फिल्म निर्मातालाई पछ्याएँ। मैले धेरै पल्ट अरुको फोनबाट निर्देशकको टेलिफोन नम्बर चोरे पनि। र, त्यो नम्बरमा दैनिक म्यासेज पठाउथेँ।’
उनले आफूले निकै मिहिनेत गरेर बनाएको ‘पोर्टफोलियो’ लाई निर्माता–निर्देशकले फोहोर फ्याक्ने डिब्बामा हाल्ने गरेको कहानी सुनाए। ‘म आफ्नो पोर्टफोलियो बोकेर घुमिरहेको हुन्थेँ।’ उनले आफूलाई चिनाउन ‘कलिङ कार्ड’ पनि बाँड्ने गरेको बताए। ‘म आफूलाई नयाँ अभिनेताको रुपमा चिनाउन कार्ड बाड्ने गर्थेँ,’ उनले भने।
आफ्नो पहिलो ब्रेकको विषयमा जानकारी दिँदै उनले भने, ‘करिब ८–१० महिनापछि सानुको फोन आयो। उनले भने, यशराज फिल्म्स नयाँ कलाकारको खोजीमा छ।’ उनले आफूलाई यशराज फिल्म्स ठूलो प्रोडक्सन हाउस भएको थाहा पाएको बताए।
उनले फिल्मको अडिसनमा सय प्रतिशत काम गरेको र त्यसैले आफूलाई ‘ब्यान्ड बाजा बरात’ मा काम गर्ने मौका दिएको सुनाए। ‘मलाई पहिले आशा पनि थिएन्। यो फिल्ममा स्टार बनिसकेकी अनुष्का शर्मा मुख्य भुमिकामा थिइन,’ उनले भने, ‘आदित्य सरले मलाई लिएर काम गर्ने बताएपछि मेरो खुट्टा भुइँमा थिएनँ। म भुइँमा बसेर रोइरहेको थिएँ।’
रणवीरको पहिलो फिल्म नै हिट भएको थियो। उनी पद्मावतको सफलतापछि ‘गली व्वाई’ को रिलिजको पर्खाईमा छन्। यो फिल्ममा उनीसँग आलिया भट्ट प्रमुख भुमिकामा छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।