न्युयोर्क (एजेन्सी)– हलिउडका चर्चित अभिनेता ब्राड पिट कुनैबेला ट्रायम्फ बोनेविलको मोटरसाइकल प्रयोग गर्थे। जसको अब लिलामी हुँदैछ। ‘केरोल न्यास एमसिएन लन्डन मोटरसाइकल शो’ मा उनको बाइक पनि लिलामीमा राखिएको छ।
ब्राड पिटले प्रयोग गर्ने बाइक ‘स्टेटम्यान बड एटकिन्सन’ को जीवनलाई सेलिब्रेट गर्न विशेष रुपले बनाइएको थियो, जसको निधन २००८ मा भएको थियो। एटकिन्सन नामुद चालक स्टिभ मेक्वीनको नजिकका साथी थिए। उनीहरू १९६० को दशकमा सँगै रेसमा भाग लिन्थे।
विशेष किसिमको यो बाइकलाई होल्स्टेन ब्रान्डले बनाएको थियो। एटकिन्सले स्टीभ मेक्वीनको फिल्म ‘दि ग्रेट इस्केप’ मा मेक्वीनको मोटरसाइकलको स्टन्ट गरेका थिए। जुन हलिउडको फिल्मी इतिहासमा अहिलेसम्मकै उत्कृष्ट मोटरसाइकल स्टन्ट मानिन्छ। १९६० को दशक एटकिन्सले अन्तर्राष्ट्रिय सिक्स डे ट्रायल इभेन्ट सात पल्ट पुरा गरेका थिए।
एटकिन्सले सबै मोटर रेस ट्रायम्फ मोटरसाइकलबाट पुरा गरेका थिए, जसबाट उनले ४ स्वर्ण र १ रजत जित्न सफल भए। जुन बाइक लिलाम हुँदैछ, त्यसलाई ‘ओसन इलेवर’ का निर्माता जेरी वेइन्टरोबले उपहारको रुपमा ब्राड पिटलाई प्रदान गरेका थिए। २०१८ मा लिलामीमा राखिएको यो मोटरसाइकलको लागि २ करोड ८८ लाख देखि ४ करोड ३२ लाख रुपैयाँसम्मको बोली लाग्ने अनुमान गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।