विराटनगर- इलाका प्रहरी कार्यालय रानीले लागुऔषध ओसारपसारमा संलग्न एक महिलासहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
‘अवैध मदिरा तथा लागुऔषध नियन्त्रण’ का लागि खटिएको प्रहरी टोलीले सुनसरीको झुम्का २ बस्ने १८ वर्षीया स्वस्तिका चौधरी र इटहरी उपमहानगरपालिका ४ बस्ने १८ वर्षीय विवेक पाण्डेलाई नियन्त्रणमा लिएको हो।
भारतीय बजारबाट नेपालतर्फ पैदल आइरहेका उनीहरुलाई शंकाको आधारमा चेकजाँच गर्दा ठूलो परिमाणमा लागुऔषध बरामद भएको इलाका प्रहरी कार्यालय रानीका प्रमुख प्रहरी निरीक्षक सन्तोष निरौलाले बताए।
उनीहरुको साथबाट डाइजेल्याब, लुपिजेसिक, एभिल, फेनारगन, र नाइट्रोसन ट्याब्लेट लगायतका लागुऔषध बरामद भएको निरौलाले जानकारी दिए।
दुई दिनअघि मात्रै लागुऔषध सहित सप्तरीको छिन्नमस्ता गाउँपालिका ३ का २८ वर्षीय सोनु राय, राजविराज नगरपालिका ८ का सुरज यादव र उदयपुर कटारी नगरपालिका ४ का हरिकृष्ण सुनुवारलाई प्रहरीले पक्राउ गरेको थियो।
तीनै जना छिन्नमस्ता गाउँपालिका २ मौवाबाट पक्राउ परेको एसपी मुकेशकुमार सिंहले बताए।
पक्राउ परेका पाँचै जनाउपर लागुऔषध ऐन अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।