नेपालगन्ज- ९३ वर्षीय श्रीजंग शाहलाई बुवाको आदेश थियो, ‘खानदानलाई बदनाम हुने कुनै काम नगर्नू। मैले दुःख गरी कमाएको सम्पत्ति कुपात्रको हातमा नपरोस्। कुपात्रको हातमा पर्यो भने धर्मको सट्टा पाप आइलाग्नेछ।’
श्रीजंगका बुबा तिनै हुन्, जसको नामबाट पश्चिम नेपालकै सबैभन्दा ठूलो आँखा अस्पताल सञ्चालनमा छ– फत्तेबाल आँखा अस्पताल।
कप्तान फत्तेजंग शाह तथा उनकी पत्नी बाल दिव्यश्वरी शाहको नामबाट अस्पतालको नामकरण भएको हो। शाह दम्पतीले नेपालगन्जको फुटेग्रास्थित आफ्नो २० कोठाको घर र करिब ३० कठ्ठा जग्गा अस्पताललाई दानमा दिएको थियो। घरजग्गा दानमा दिने दाताको नामबाट नै अस्पतालको नाम राखिएको हो।
सो घरजग्गाको अहिलेको मूल्यांकन गर्ने हो भने करिब ३० करोड हुने अस्पतालका प्रबन्धक डा कौशल कुमार बर्मा बताउँछन्।
तिनै दानवीर बुवाका छोरा श्रीजंग स्वर्गीय बुवाले हिँडेकै पथ र 'आदेश' पछ्याइरहेका छन्। हालैमात्र शाहले काठमाडौं महानगरपालिका १ कान्तिपथको करिब ५ कठ्ठामा रहेको घरजग्गा सोही अस्पताललाई दान गरेका छन्। चलनचल्तीको मूल्यांकनमा जग्गाको दाम करिब १ अर्ब रहेको छ।

पहिला बुवाआमाले आँखा अस्पतालका लागि नेपालगन्जमा रहेको घरजग्गा दानमा दिएका थिए। समाजका लागि दान गरेर सेवा पुर्याउने बुवाआमाको कार्यलाई अहिले छोराबुहारीले निरन्तरता दिएका हुन्।
शाह पत्नी रुद्रकुमारीसँगै बस्दै आएका छन्। उनीहरुकी एक विवाहित छोरी ईश्वरी राणा छिन्।
शाहले दान गरेको जग्गा पास भएर लालपुर्जा नै अस्पतालको नाममा आइसकेको प्रबन्धक डा बर्माले बताए। उक्त घरजग्गा शाहको मरोणपरान्त अस्पतालको स्वामित्वमा आउनेछ।
बुवाले दानमा दिएको घर र जग्गामा बनेको आँखा अस्पतालबाट नेपालगन्ज लगायत पश्चिम नेपाल र भारतका विभिन्न सहरका विपन्न नागरिकले सर्वसुलभ रुपमा गुणस्तरीय उपचार सेवा पाउँदा आफूलाई निकै खुसी लागेको शाह बताउँछन्।
'बुवाआमाको नि:स्वार्थ सामाजिक कार्यको प्रेरणाले मैले पनि यस्तो निर्णय गरेको हुँ,' उनी भन्छन्। अस्पतालले चित्तबुझ्दो काम गरेकाले आफूले बुवाआमाकै सत्मार्ग पछ्याएको उनको भनाइ छ।
आफूलाई भेट्न आउने शुभेच्छुकलाई शाहले जीवनमा स्वर्ग र नर्क यही भएको बताउँदै नि:स्वार्थ भावले सामाजिक कार्य गरेर आनन्द र खुसी महसुस गर्न आग्रह गर्ने गरेका छन्।
समाजमा आफू र नातेदारका लागि मात्रै सोच्ने प्रवृत्ति मौलाइरहेको समयमा शाह सामाजिक कार्य गर्न चाहनेहरुका लागि उदाहरणीय बनेका छन्।

२०४३ सालमा १० बेडबाट सुरु भएको अस्पतालमा अहिले २ सय ५० बेड सञ्चालनमा छ। स्थापनाकालमा ४ हजार ५ सय ६९ जना बिरामीको उपचार गर्नुका अस्पतालले १ सय ५३ जनाको शल्यक्रिया गरेको थियो।
अस्पताल व्यवस्थापनले दाताको चाहना र प्रेरणा अनुसार सेवा विस्तार गर्दै अहिले २ सय ५० बेड पुर्याएको छ।
अस्पतालले गत आर्थिक वर्षमा १ लाख २० हजार ७ सय ३७ बिरामीको आँखा परीक्षण गरी उपचार गर्नुका साथै तीमध्ये ११ हजार ७ सय १ बिरामीको आँखाको शल्यक्रिया गरेको छ।
अस्पताल बिहान ८ बजे देखि ११ बजेसम्म र अपराह्न साढे १२ देखि साढे ३ बजेसम्म सञ्चालन हुँदै आएको छ। यहाँ ३ जना नेत्र विशेषज्ञ, १६ जना नेत्र सहायकसहित ७१ जना कर्मचारीहरु कार्यरत छन्।
श्रीजंग शाहले कलकत्ता विश्वविद्यालयबाट राजनीतिशास्त्रमा एमए, डिप्लोम्यासी र अन्तर्राष्ट्रिय कानुनमा स्नातकोत्तर गरेका छन्। विश्वका दर्जन बढी मुलुकको भ्रमण गरेका शाह सुविख्यात त्रिशक्ति पट्ट दोस्रो र गद्दी आरोहण रजत महोत्सव पटकबाट विभूषित भइसकेका छन्।
लुम्बिनी बिकास कोष र पशुपति क्षेत्र विकासका लागि नेपाल सरकारबाट निर्देशन भएअनुसार देशव्यापी रुपमा चन्दा संकलन गरी सामाजिक योगदान दिएका शाह, ३० वर्षदेखि फत्ते बाल आँखा अस्पतालको संरक्षक हुन्।
पशुपति क्षेत्र विकास कोषको उपाध्यक्ष समेत भइसकेका उनी विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोषको सम्मेलनमा नेपालको तर्फबाट अल्टरनेट गभर्नरको रुपमा सहभागी हुनुको साथै त्रिभुवन विश्वविद्यालयको सिनेट मेम्बर, नेपाल राष्ट्र बैंकको निर्देशक, तत्कालिन शाही नेपाल वायु सेवा निगमको निर्देशक पदमा रही सेवा गरेका छन्।
नेपाल रेडक्रस सोसाइटी र नेपाल नेत्र ज्योति संघको आजीवन सदस्य रहेका शाह लुम्बिनी विकास कोषको सदस्य पदमा पनि क्रियाशील थिए। नेपालगन्ज र काठमाडौं दुवै स्थानमा उनको घर छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।