काठमाडौं- धितोपत्र बजारमा यस साता एक अर्ब ५४ करोड १४ लाख २५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
नेपाल स्टक एक्चेन्जका अनुसार यस साता कूल १७९ कम्पनीको ३७ लाख ९२ हजार ४ सय ७० कित्ता सेयर कारोबार भएको हो। कारोबार रकम गत साताको भन्दा ०.६२ प्रतिशत कम हो। गत साता १ सय ७६ कम्पनीको एक अर्ब ५५ करोड ११ लाख दुई हजार रुपैयाँ बराबरको ४१ लाख ९६ हजार चार सय ९० कित्ता सेयर खरिद–बिक्री भएका थिए।
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ४०.२४ अंकले बढेर अन्तिम दिन एक हजार ४२४.९५ अंकमा पुगेको छ। ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ८.४९ अंकले बढेर ३०१.३० अंकमा आइपुगेको छ।
यस साता कारोबार रकमका आधारमा प्रभु बैंक लिमिटेड अग्रस्थानमा रह्यो। सो बैंकको रु ६ करोड ७१ लाख ५० हजार बराबरको सेयर कारोबार भएको हो।
त्यसैगरी, कारोबार भएको सेयर संख्याका आधारमा पनि सोही बैंक अग्रस्थानमा छ। सो बैंकको दुई लाख ९३ हजार कित्ता सेयर कारोबार भएको हो। कारोबार संख्याका आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड अग्रस्थानमा रह्यो। सो बैंकको ५९० वटा कित्ता शेयर कारोबार भएको स्टकले जनाएको छ।
यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो। यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन।
यस साता सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको ६ लाख कित्ता साधारण सेयर, जेविल्स फाइनान्सको २८ लाख ८९ हजार ५६२ कित्ता हकप्रद, ओरियन्ट होटलको १४ लाख २५ हजार १०६ कित्ता बोनस सेयर र गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडको १९ लाख ७३ हजार ९२८ कित्ता हकप्रद सेयर स्टकमा सूचीकृत भएको छ। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।