काठमाडौं– साउथ इन्डियन फिल्महरुको प्रभाव संसारभर फैलिरहेको समय एक नेपाली युवाले साउथ इन्डियन फिल्ममा आफ्नो अभिनय यात्रा प्रारम्भ गरेका छन्। नवनायक विष्णु अधिकारीले तेलगु फिल्म ‘एक’ मार्फत साउथ इन्डियन फिल्ममा डेब्यु गरेका हुन्।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै विष्णु अभिनित तेलगु फिल्म ‘एक’को ट्रेलर सार्वजनिक गरियो। कार्यक्रममा अभिनेता विष्णुको अभिनय तथा उनकै स्वरमा रहेको ‘एक’ फिल्मको नेपाली भर्जनको गीत ‘फर्की आऊ’को भिडियो पनि प्रर्दशन गरियो। २५ वर्ष अघिदेखि भारतको हैदरावादमा बस्दै आएका लमजुङका विष्णु अधिकारी साउथ इन्डियन फिल्ममा नेपाली मूलका आस लाग्दा अभिनेताका रुपमा देखिएका छन्।
आर्कषक, सुगठित र अग्लो शारीरिक बनावटका कारण साउथ इन्डियन फिल्मका लागि 'मार्क' भइसकेका विष्णु साउथमा आफ्नो भविष्य खोजिरहेका छन्। अमेरिका ट सिभिल इन्जिनियरिङ विषयमा मास्टर्स गरेका विष्णु, अभिनयसँगै गायनमा पनि उतिकै दक्खल राख्छन्। प्रत्रकार सम्मेलनमा उनले गिटारका साथ आफ्नो गीत ‘फर्की आऊ’को प्रस्तुतिसमेत दिएका थिए।
'आमाबाबाको कार्यक्षेत्र भारत भएकाले उतै बसेर तेलगु भाषामा पोख्त भएँ,' मुस्किलले नेपाली भाषामा उनले भने। भारतमै फिटनेस प्रशिक्षकका रुपमा स्थापित विष्णु करियरमा फिटनेसलाई लाइफ स्टाइल, संगीतलाई सौख र अभिनयलाई प्यासनका रुपमा लिन्छन्।
बाबाआमाको सपना पूरा गर्न सिभिल इन्जिनियरिङ पढेका विष्णुले आफ्नो सपना भने फिल्ममै रहेको बताए। अभिनयका लागि आत्मविश्वास र त्यसको निखारका लागि फिटनेस हुने भन्दै यसैका आधारमा साउथ इन्डिनय फिल्मको दुनियाँमा आफू स्थापित हुने उनले बताए। उनले नेपाल लाइभसँग भने, ‘साउथ इन्डियन फिल्ममा अवसर पाउन धेरै गाह्रो छ, बल्ल पाएको छु। अब यसको निरन्तरतामा लागिरहन्छु। र म आफूलाई लक्की मान्छु, किनकि सबैको साथ सहयोग र आशीर्वाद मसँग छ।’
विष्णुको नयाँ फिल्म ‘एक’ आउँदो मार्च २ मा रिलिज हुँदैछ। उनले फिल्मको ट्रेलर सार्वजनिक भएसँगै राम्रो प्रतिक्रिया पाइरहेको बताए। फिल्ममा विष्णुका साथमा अर्पना शर्माको अभिनय छ। फिल्मलाई सम्पथ रुद्ररापूले निर्देशन गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।