काठमाडौं– अभिनेता श्रीकृष्ण श्रेष्ठको निधनपछि उनकी श्रीमती तथा नायिका श्वेता श्रेष्ठ शुक्रबार पहिलो पल्ट चलचित्रको पर्दामा देखा परेकी छिन्। उनको नयाँ चलचित्र ‘कान्छी’ शुक्रबारदेखि नेपाली सिनेमाघरमा प्रदर्शन भएको छ। श्रीकृष्णको निधनपछि श्वेताको यो पहिलो फिल्म हो। कान्छीको रिलिज एकै पल्ट ७० हलमा भएको छ।
फिल्मको प्रिमियर हेरेर निस्कने क्रममा श्वेता एक्कासी भक्कानिएकी थिइन्। उनले दर्शकको सकारात्मक प्रतिक्रियापछि आफू भक्कानिएको बताइन्। ‘यो खुसीको आँशु हो। दर्शकहरूले मलाई साथ दिनुभयो,’ प्रतिक्रिया दिने क्रममा उनले भनिन्।
अधिकांश दर्शकले फिल्म राम्रो बनेको प्रतिक्रिया दिएका छन्। विशेष गरी निर्देशक आकाश अधिकारीको काम र श्वेता खड्काको फिल्ममा ‘कम ब्याक’को दर्शकले स्वागत गरेका छन्।
फिल्म हेरेर निस्किएपछि लेखक तथा निर्देशक सुब्रत आचार्यले सामाजिक प्रेम कथामा तयार पारिएको फिल्म भएकाले राम्रो बनेको प्रतिक्रिया दिए। उनले भने, ‘आकाशको निर्देशकीय क्षमता देखियो। श्वेता पर्दामा धेरै राम्री देखिएकी छिन्। श्वेतालाई शुभकामना छ।’
‘कान्छी’ को निमार्ण युनिट पनि फिल्मप्रति निकै आशावादी देखिएको छ। निर्देशक आकाश र अभिनेता दयाहाङ राई आफ्नो काम र दर्शकको प्रतिक्रियाबाट हौसिएका थिए।
फिल्ममा श्वेता, दयाहाङका साथै प्रज्वल सुजल गिरी, कामेश्वर चौरसिया, अशान्त शर्मा, अनु शाह, विनोद न्यौपाने, नीर शाहलगायत कलाकारको अभिनय छ। मुस्ताङ, माथिल्लो मुस्ताङ, जोमसोम लगायतका सुन्दर स्थानमा छायाँकन गरिएको फिल्म ग्रामीण परिवेशका युवा–युवतीको प्रेममा आधारित छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।