काठमाडौं- नेपाली पुँजी बजार प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा राजनीतिक गतिविधिसँग जोडिने गरेको देखिन्छ। यसै क्रममा नयाँ प्रधानमन्त्रीका रुपमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नियुक्तिसँगै देशले स्थायी सरकार पाउने आशामा लगानीकर्ताहरु सेयर खरिद गर्नेतर्फ लागेको देखिन्छ।
लामो समयदेखि निरन्तर ओरालो लागेको नेप्से परिसूचक साताको अन्तिम कारोबारका दिन उल्लेख्य मात्रमा वृद्धि भएर बन्द भएको छ। लगानीकर्तामा नयाँ प्रधानमन्त्री नियुक्तिसँगै मन्त्रिमण्डल विस्तार हुने, स्थायी सरकार बन्ने अपेक्षासहित सेयर बजारमा सकारात्मक प्रभाव परेको एक लगानीकर्ताले बताए। उनले यसअघि नै नवनियुक्त प्रधानमन्त्री ओलीले पुँजी बजार विस्तारमा सहयोग गर्ने बताएकाले पनि त्यसको प्रभाव बजारमा परेको बताए।
बिहीबार परिसूचक ३६ दशमलब ०१ अंकले बढेर १ हजार ४ सय २४ दशमलब ९५ अंकको बिन्दुमा रोकिएको छ।
बिहीबार परिसूचक बढेसँगै कारोबार रकममा पनि उल्लेख्य मात्रमा सुधार आएको छ। बिहीबार १ सय ६५ कम्पनीको ६६ करोड ३९ लाख ५६ हजार २ सय ४९ रुपैयाँको सेयर खरिद बिक्री भएका छन्। जबकि बुधबारको कारोबारमा ३८ करोड ६४ लाख ८६ हजार २ सय ८ रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो।
बिहीबार कुमारी बैंकको सेयर सर्वाधिक कारोबार भएको छ। बैंकको ३ करोड ४८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो। त्यस्तै, नेपाल इन्भेस्टमेन्ट बैंकको ३ करोड ५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
बुधबार कारोबारमा आएका १० समूहमा नै हरियाली छाएको छ। बिमा समूह अन्तर्गतका लगानीकर्ताले भने सर्वाधिक कमाएका छन्। बिमा समूह २ सय १३ दशमलब ९५ अंकले बढेको छ। माइक्रोफाइनान्स समूह ६२ दशमलब ९१ अंकले बढेको छ। त्यस्तै, विकास बैंक समूह ५५ दशमलब ५ अंक, उत्पादन तथा प्रशोधन समूह ५० दशमलब ७५ अंकले बढेको छ।
बिहीबारको कारोबारमा सर्वाधिक गुमाउनेमा एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड – एकका लगानीकर्ता छन्। कम्पनीको सेयर मूल्य १ रुपैयाँले अर्थात् ३ दशमलब ८१ प्रतिशतले घटेको छ। त्यस्तै, सिर्जना फाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले प्रतिसेयर १० रुपैयाँ अर्थात् ३ दशमलब ४३ प्रतिशत गुमाएका छन्।
बिहीबारको कारोबारमा सर्वाधिक कमाउनेमा श्री इन्भेस्टमेन्ट फाइनान्सका लगानीकर्ता परेका छन्। कम्पनीको सेयर मूल्य ९ दशमलब ८२ प्रतिशत अर्थात् २२ रुपैयाँले बढेको छ। त्यस्तै अरुण फाइनान्सका लगानीकर्ताले प्रतिसेयर १५ रुपैयाँ कमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।