काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले 'म यो देशमा एउटा मानिस खोजिरहेछु' का गायक शिशिर योगीलाई मान्छेको खोजी छाड्न सुझाएका छन्।
बुधबार सांसद शान्ता चौधरी र गीतकार भगवति न्यौपानेको गीत रिलिजका क्रममा उनले यस्तो बताएका हुन्।
अग्रभागमा बसेका गायक योगीलाई लक्ष्य गर्दै ओलीले भने, ‘शान्ता चौधरीले यी सबै काम गर्न छाडेर म एउटा मान्छे खोजिरहेछु भन्दै हिडिरहेको भए कोही भेटिँदैनथ्यो। आफैं त्यही मान्छे बन्न खोज्नुभयो। कमलरीबाट आज शासन गरिरहेको पार्टीको संसदीय दलको सचेतक हुनुहुन्छ। म पनि मान्छे खोज्न थालिनँ, देश मैले नै बनाउने हो भनेर लागें।’
प्रधानमन्त्री ओलीले कमलरी बसेकी, खान लाउन नपाएकी एउटी फुच्ची आज आएर सत्तारुढ पार्टीको संसदीय दल चलाउने सचेतक बन्नुको कारण त्यो मान्छे आफैं बन्ने लक्ष्य लिएर भएको बताए। यिनै कारणले हिजो सत्तामा बसेर अत्याचार गर्नेहरु आज सडकमा राइरहेको बताए। उनले भने, 'यही हो परिवर्तन भनेको। शान्ता चौधरीले एसईई गर्नुभयो, हामीले हेर्दा हेर्दै पिएचडी गर्नुभयो भने आश्चर्य नमाने हुन्छ।’
विमोचित चार मध्ये एक गीतका गायक योगीले आफ्नो चर्चित गीत 'म एउटा मान्छे खोजिरहेछु'को एक टुक्का गाएका थिए। प्रसंग जोड्दै उक्त मान्छे भेटिएको दिन गीत गाउन छाड्ने बताए। त्यसैको जवाफमा प्रधानमन्त्रीले थपे, ‘शिशिरजी, तपाईंको गीतले खोजेको मान्छे तपाईं स्वयं हो।’
उनले मान्छे खोज्ने हो भने आफैंभित्र खोज्न सुझाउँदै भने, 'तपाईंले खोजेको मानिस तपाईं नै हो। देश बनाउने तपाईंले नै हो।’
अर्का कलाकार बद्री पंगेनीले विचार मरेर महल बन्न थाल्यो भन्दै गीत गाएका थिए।
सँगै उनले बिग्रिएको बाटाका विषयमा कुरा उठाए। उनको कुरामा पनि प्रधानमन्त्रीले जफाव फर्काए। भने, ‘महल नै बनाउने हो। झुपडी बनाउने होइन। झुपडी विस्थापित नै गर्ने हो। त्यही काममा लागिया छ। अस्ति नै बारापर्सामा आठ सय ६९ घर उडायो। फुसको घरको ठाउँमा पक्की घर बनायौं। यो हेर्न किन बिर्सनुहुन्छ?’ प्रधानमन्त्रीले देशमा यस बीचमा १६ सय किलोमिटर सडक बनेको दोहोर्याए।
प्रधानमन्त्रीले शान्ता चौधरी र भगवती न्यौपानले यथार्थ लेखेर जोखिम मोलेको बताए। उनले भने, ‘अहिले सरकारलाई गाली गर्दा ताली पाइन्छ, सरकारले गरेको राम्रो काम देख्दा गाली पाइन्छ। यस्तो बेला पनि उहाँहरु सत्यको पक्षमा उभिनुभएको छ।’
कार्यक्रममा आफ्नो गीतमा उल्लेखित भाव प्रकट गर्दा सांसद चौधरी भावुक बनिन्। उनका आँखा पटकपटक अवरुद्ध भए। उनले जातीय कुरा धेरै उठ्ने गरेको बताउँदै वर्गीय विभेद अहिलेको मुख्य चुनौती रहेको बताइन्। आफूले भन्ने गरेको कुरालाई दोहोर्याउँदै भनिन्, 'म थारु भएर कमलरी बस्नु परेको होइन। गरिब भएर बस्नु परेको हो।'
एकसाथ रिलिज गरिएका चार वटा गीतमा दुईटा सांसद चौधरीले र दुईटा न्यौपानेले लेखेकी हुन्।
सांसद चौधरीले आफ्नो जीवनको पूवार्द्धमा कमलरी बस्नुपर्दाको पीडा र जीवनको कष्टकर घडीमा निकटतम स्वजनले छाड्दाका दुःख गीत मार्फत् प्रस्तुत गरेकी छन्।
आफ्नै जीवनको अनुभूति लेखिएका भएपनि ‘कोही बाँच्छन् काँडाबीच’ र ‘निर्दयी रैछौ’ गीतले धेरैका साझा भावना समेटेका छन्। यसैगरी न्यौपानेले देशलाई समृद्धिको दिशातर्फ लैजान मरिमेटेका प्रधानमन्त्री केपी ओलीको सपना र अडानमाथि ‘सलाम तिमीलाई’ गीत लेखेकी छिन्। अर्को देशभक्तिले ओतप्रोत गीत ‘देशका लागि’ छ।
सांसद चौधरीद्वारा सिर्जित दुवै गीतमा सवैप्रिय गायिका अञ्जु पन्तको स्वर रहेको छ।
न्यौपानेद्वारा रचित एउटा गीतमा शिशिर योगी र अर्कोमा बद्री पंगेनीको स्वर रहेको छ। गीतका म्युजिक भिडियो समेत निर्माण गरिएका छन्।
म्युजिक भिडियोको निर्देशन प्रकाश भट्टले गरेका हुन् भने कलाकार गजेन्द्र विष्ट र रेजिना उप्रेतिको अभिनय छ। राजेश घिमिरेको छायांकन रहेको म्युजिक भिडियोहरुको सम्पादन विष्णु शर्माले गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।