नयाँ दिल्ली (एजेन्सी)- केही दिनयता सोसल मिडियामा भाइरल बनिरहेकी भारतकी मलयालम अभिनेत्री प्रिया प्रकाश वारियरको चौतर्फी चर्चा भइरहेको छ। १८ वर्षीया प्रिया रातारात इन्टरनेटमा छाएकी छिन्। उनको डेब्यू फिल्म 'ओरु अदार लव को' एक गीतको छोटो दृश्य सार्वजनिक भएसँगै यो वाहवाही उनले पाएकी हुन्।
खास कुरा के छ भने, फिल्मको क्लिप र टिजर भ्यालेन्टाइन्स डे को अवसरमा रिलिज गरिएको छ। यो भाइरल भिडियोमा प्रिया र उनका को-स्टार मोहम्मद रोशनको कैमिस्ट्रीले करोडौं युवाको मनलाई छोएको छ।
प्रियाको डेब्यू फिल्म रिलिज हुनु अगावै उनका प्रशंसक देश-विदेशमा बढेका छन्। प्रियाको फ्यान फ्लोइङ कस्तो छ भने, उनलाई पछिल्ला केही दिनयता गुगल सर्चमा अत्यधिक खोजिएको छ। उनले गुगल सर्चमा चर्चित बलिउड अभित्रेनीहरुलाई पछि पारेकी छिन्। गुगल खोजीमा सनी लियोनी, आलिया भट्ट र कैटरिना कैफ उनीभन्दा पछाडि छन्।
दुई-तीन दिनमै रातारात ख्याति प्राप्त हुनु जोकसैको लागि सपना जस्तै कुरा हो। यो सपना पोल्टामा पारेकी प्रियाबारे बढीभन्दा बढी कुरा थाहा पाउन केही दिनयता इन्टरनेटमा मानिसहरुले निकै तीव्रतासाथ सर्च गरेका छन्, जसबाट उनले खोजीको पंक्तिमा अगाडि रहेका बलिउडका कैयौं ठूला हस्तीहरुलाई फ्लप साबित गरिदिएकी छिन्।
केरलको त्रिशूर शहरमा बस्ने प्रियाले भिडियो क्लिपमार्फत कैयौं युवाको धड्कनलाई आफ्नो आँखाको इशाराबाट ठप्प जस्तै पारिदिएकी छिन्। भिडियोमा स्कुल ड्रेसमा देखिएकी प्रियाले आफ्नो प्रेमीलाई इशाराबाटै रोमान्स गरेको देखाइएको छ।
उनको डेब्यू फिल्म 'ओरू अदार लव' आगामी मार्च ३ मा रिलिज हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।